किन लगातार घटिरहेछ सेयर बजार ? जानकार भन्छन्, ‘अब उँभो गति लिन्छ’
काठमाडौं । पछिल्लो केही समययता नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । दुई साता अघिदेखि धेरै अंकले घट्ने र थोरै अंकले बढ्ने गरिरहेको सेयर बजार अघिल्लो बुधबारदेखि निरन्तर ओरालो लागिरहेको छ । यो अवधिमा नेप्से परिसूचक १९७.२६ अंक घटिसकेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर ओरालो लागिरहेको छ ।
गत साउन ३१ गते नेप्से परिसूचक ३०००.८१ बिन्दुमा पुगेको थियो । जुन करीब ३ वर्षयताकै उच्च थियो । २०७८ भदौ २ गते ३१९८ बिन्दुमा उच्च रेकर्ड बनाएको नेप्सेले त्यसयता सो रेकर्ड तोड्न सकेको छैन ।
यो पटक नेप्सेले नयाँ रेकर्ड कायम गर्नेमा अधिकांश लगानीकर्ता विश्वस्त थिए । तर ३ हजार बिन्दु पुगेपछि बजार निरन्तर ओरालो लाग्न थाल्यो । त्यसयता १५ दिनको कारोबारमा नै नेप्सेमा ३६७.८७ अंकको गिरावट आएको छ ।
एमाले र कांग्रेसको सत्ता समीकरण बनेसँगै बढेको बजारमा छोटो समयमै उछाल देखिएको थियो । नेप्से परिसूचक ३ हजार बिन्दुमा पुग्दा कारोबार रकमले ऐतिहासिक रेकर्ड बनायो । सो दिन २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
नेपाली सेयर बजारको इतिहासमा एकैदिन झन्डै ३० अर्बको कारोबार हुनुले यसको भविष्य उज्ज्वल रहेको पुष्टि गर्छ ।
यद्यपि त्यसयता भने बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत निरन्तर गिरावट देखियो । मंगलबार कारोबार रकम ७ अर्बमा खुम्चिएको छ । कारोबार रकम घट्नुले बजारमा क्रेताको संख्या कम रहेको अनुमान लगाउन सकिन्छ ।
बजार सधैँ बढिराख्ने भन्ने हुन्न र बजार घटिरहँदैन । घटेपछि बढ्नु र बढेपछि घट्नु नै सेयर बजारको स्वरूप हो । कतिपय लगानीकर्ताहरू बजार बढ्दा मात्तिने र घट्दा अब सकियो भने जसरी आत्तिने प्रवृत्ति छ ।
सेयर बजार बढ्नका लागि किन्नेहरू सक्रिय हुन आवश्यक छ । बिक्रेताले बिक्रीका लागि राखेको सेयर क्रेताले सहजे किन्ने हो भने मूल्य पनि बढ्दै जान्छ । यसरी स्टकको मूल्य बढ्दै जाँदा समग्र बजार पनि बढ्दै जान्छ ।
अहिले सेयर बजार घट्नुमा लगानीकर्ताको मनोबल प्रमुख कारक देखिएको जानकारहरू बताउँछन् । किनभने अहिले अन्य तत्वका कारण बजार घट्नुपर्ने देखिँदैन ।
अहिलेको स्थितिमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । अहिले लगानीकर्ताहरू किनिहाल्ने अवस्थामा पनि छैनन् र बेचिहाल्ने अवस्था पनि छैन । त्यसैले पनि कारोबार रकममा समेत निरन्तर गिरावट आइरहेको छ ।
लगानीकर्ता ताराप्रसाद फुल्लेल अहिलेको बजार घटाई सामान्य करेक्सन मात्र भएको बताउँछन् । ‘अहिले बजारमा सामान्य करेक्सन देखिएको मात्र हो । लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा केही घटे पनि बजार फर्किछ’ उनले भने ।
अहिले बजार घट्नुपर्ने कुनै कारण नरहेको उनी बताउँछन् । ‘बजार घट्नुपर्ने कुनै कारण नै छैन । बजार बढ्दा जुन जुन कारण थिए त्यो भन्दा राम्रो छ अहिले । बैंकको बेस रेट घटिरहेको छ । सस्तोमा लोन पाउने अवस्था छ । राष्ट्र बैंक लचक भएको छ । बजारलाई असर गर्ने केही भएको छैन’ उनले भने ।
सरकार परिवर्तनका कुरा बजार घटाउनका लागि छरिएको भ्रम मात्र भएको उनले बताए । अहिले लगानीकर्ताले प्रोफिट बुक गर्दा करेक्सन देखिएको उनको भनाइ छ । कारोबार रकम घट्नुले प्यानिक सेल सकिएको संकेत गर्ने उनले बताए ।
अब बजारले छिट्टै उकालो यात्रा तय गर्ने उनको दाबी छ ।
केही लगानीकर्ता भने बजार केही समय ‘साइडवेज’मा जान सक्ने विश्लेषण गरिरहेका छन् ।
बजार धेरै घटिसकेकोले २६ सयबाट तल नझर्नेमा कतिपय लगानीकर्ताहरू विश्वस्त देखिन्छन् । बजारमा उच्च गिरावट आइसकेकोले अब क्रेताहरू हाबी हुँदै जाने सम्भावनाहरू पनि प्रशस्त देखिन्छ ।
समग्रमा हेर्दा सेयर बजारका लागि नकारात्मक केही छैन । यसकारण करेक्सनहरुका बाबजुत पनि बजारले गति लिने जानकारहरू बताउँछन् ।