लकडाउन कडा गर्ने, जेठ ५ पछि क्षेत्र छुट्याएर मोडालिटी परिवर्तन
काठमाडौं । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग आज गरेको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए । लकडाउनको समिक्षा गर्दै समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको बिडारीले बताए ।
त्यसैगरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकलाई चार्टर्ड उडानमार्फत् पठाउने निर्णय पनि गरेको छ । सचिव विडारीले जापान जानबाट रोकिएका ६०० र हङकङको आइडीप्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए।













