बझाङ्गवासीलाई बाढी र पहिरोको त्रास, जयपृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । मनसुन शरु भएयता बझाङ्गवासीलाई बाढी पहिरोको त्रास बढेको छ । देशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोबाट सयौँ मानिसको मृत्यु भएको समाचार सुन्दा बबझाङ्गवासी बाढीको त्रास बढेको हो ।
त्यस्तै दुई साताअघि जिल्लाको केदारस्युँ गाउँपालिकास्थित मल्लेसी गाउँमा पहिरो खस्दा ७ जनाले ज्यान गुमाउनु परेको घटनाले पनि यहाँका स्थानियलाई मर्माहित बनाएको छ ।
त्यस्तै बझाङ्गमा बाढीले गर्दा जयपृथ्वी राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो जाँदा आवतजावतमा पनि समस्या परेको स्थानियहरुले गुनासो गरेका छन् ।
जयपृथ्वी राजमार्गमा पर्ने जालेबगर नजिकै सडक बगाउँदा एक सातायता यातायात सेवा अवरुद्ध भएको छ । त्यस्तै राजमार्गको कचाली खोला र सुवेडाको बीचमा पर्ने डिलमुगामा पहिरो गएको छ ।
पहिरो आएको स्थानबाट तल स्थानीयको खेतीयोग्य जमिन र घर परेकाले सडकबाट ढुंगामाटो पन्छाउन कम्तीमा ५ दिन लाग्ने सडक डिभिजन कार्यालयका सब इन्जिनियर इन्द्रराज जोशीले जानकारी दिए ।
कालंगा हाइड्रोपावरको सुरुङ खन्दा जमिन हल्लिएको बुंगल नगरपालिका(२ दहबगर,बमरलगायत ग्रामीण बस्तीका बासिन्दा पनि पहिरो खस्ने त्रासमा छन् ।
बाढी र पहिरोले सेती नदीमा निर्माण गरिएको काठेपुल बगाउँदा जिल्लाको तलकोट गाउँपालिका पूर्ण रुपमा सडक सञ्जालबाट बञ्चित भएको छ ।
यहाँका नदी तथा खोला किनारमा रहेका बस्तीहरुमा बाढी र पहिरोको त्रास देखिएको छ । वर्षा हुँदा उनीहरुले राती जाग्राम बस्नु पर्ने बाध्यता छ । सरकारले बाढी र पहिरोको जोखिममा रहेका बस्तीहरु स्थान्तान्तरण गर्ने योजना ल्याए पनि जिल्लाका जोखिमयुक्त बस्ती सार्न सकिएको छैन। यो समय बाढी र पहिरो लगायतका प्राकृतिक प्रकोपहरुको जोखिम हुने भएकाले सबैलाई सर्तक रहन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ ।
त्यस्तै बझाङ्गको सदावहार दुख दिने नारुगाड खोलामा निर्माण भईरहेको पुलको काम पनि रोकिएको छ । जहिले पनि दुख दिने खोला नारुगाडमा बनिरहेको पुलको पिल्लरको काम भईरहेको वेलामा खोला आएर पुरिदिएको छ । गत बैशाख देखी उक्त खोलामा फसेका अधिकांश गाडीहरु काम नलाग्ने भएका छन् ।
त्यस्तै पानी परेको समयमा कुन वेलामा पहिरो आउँछ भनेर मनमा डर लागिरहेको केदारस्यूँ गाउँपालीकाका स्थानिय हर्मल दिनेश विष्टले बताए । उनले भने‘ गाउँको तलबाट पहिरोले गाउँ नै लगिसकेको र कुन दिन पुरै गाउँ नै बाढीको शिकार बन्नुपर्छ र रातभरि निन्द्रा लाग्दैन ।’ केदारस्यूँ गाउँपालीका २ र ३ मा पर्ने काठखेतको पहिरो सुख्खा समयमा पनि जाने गरेको स्थानियहरुले बताए ।
बझाङ्गका अधिकांश स्थानिय तहहरु बाढीको उच्च जोखीममा रहेका छन् । जिल्ला विपद व्यवस्थापन समितिले पनि बाढी र पहिरोको जोखीम उच्च भएकाले सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ ।












