धादिङका गुण्डा नाइके भण्डारी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यलय धादिङकले गुण्डा नाइके राधे भण्डारीलाई पक्राउ गरेको छ ।धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि भण्डारीले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी लोकनाथ तिम्सिनाले बताए ।उनलाई गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका छन । उनी २३ जेठमा पनि धादिङमा हतियारसहित पक्राउ परेका थिए ।












