शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस
काठमाडौं। शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी सिफारिस भएका छन ।त्यसैगरी सदस्यहरुमा डिल्लीराम रिमाल र मावि शिक्षकबाट सेवानिवृत्त नन्दकुमारी महर्जन सिफारिसमा परेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
लोक सेवाका अध्यक्ष उमेश प्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न जिम्मा सरकारले दिएको थियो । मैनाली नेतृत्वको समितिले सुरुमा आकांक्षीहरुबाट प्राप्त दरखास्त र अवधारणापत्रको आधारमा अध्यक्षमा ४ जना र सदस्यमा ६ जनाको संक्षिप्त सूची तयार पारेको थियो ।
उनीहरुको व्यवसायीक कार्ययोजना, अन्तर्वार्तालगायत परीक्षाबाट अध्यक्षमा रेग्मी तथा सदस्यहरुमा रिमाल र महर्जन उत्तीर्ण भएका स्रोतले जनाएको छ । उनीहरुको नियुक्त गर्न शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने छ ।













