इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन, माघ ६ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । हालसम्मको सबै भन्दा ठूलो आइपीओ बिक्री खुला भएको छ । माघ २ गते शुक्रबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री निष्काशन गरिएको हो । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन् ।
बैंकको आईपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ । बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।
बैंकको आइपीओमा न्युनतम ५० कित्ता शेयरसम्म पर्ने अनुमान गरिएको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।













