कामना सेवा बैंकको दोस्रो त्रैमासमा १६३ प्रतिशत नाफा बढ्यो, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको पनि वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरिसकेका छन् । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७७।०७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस बर्ष नाफा १६२.६२ प्रतिशतले बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ र जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ संचिती रहेको जनाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी १९.८५ प्रतिशतले बढी हो ।
त्यस्तै, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.३२ प्रतिशतले बढी मुनाफा कमाएको हो ।
पौष मसान्तसम्ममा ३८ अर्ब १८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३१ अर्ब २० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ ।













