ग्लोबल आइएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, बैंकको वितरणयोग्य मुनाफा ३४२.५५ प्रतिशतले चम्कियो
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा ३२.४० प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा पनि ३२.७६ प्रतिशतले बढेर ५ अर्ब ३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३४२.५५ प्रतिशतले बढेर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको वितरणयोगय मुनाफा ५७ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको निक्षेप संकलन १५.०६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ३० करोड ३ लाख रुपैयाँ, कर्जा लगानी १७.११ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९० करोड ५६ लाख रुपैयाँ, चुक्ता पूँजी १० प्रतिशतले बढेर २१ अर्ब ६३ करोड रुपैयाँ, जगेडा कोषमा ७.३४ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ छ ।
बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९९ पैसाबाट बढेर २२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ ।













