२६ श्रावण २०८३, मंगलबार

सामाजिक सुरक्षा काेष प्रकरणः न्यायाधीशकाे राय बाझियाे, आएन अन्तरिम आदेश



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिएन । पाँच दिनको सुनुवाइ सकिएपछि न्यायाधीश द्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठबीच राय बाझिएपछि अन्तरिम आदेश नआएको हो ।

अब मुद्दा पूर्ण इजलासमा गएको छ । अन्तरिम आदेश दिने वा नदिने विषय त्यहीँबाट टुंगिने छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका ६५ जना कर्मचारीले गएको २२ जेठमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रारम्भिक बहस टुंगिएपछि आजै अन्तरिम आदेश आउने अपेक्षा बैंकरले गरेका थिए । उनीहरुले सामाजिक सुरक्षा योजनालाई स्वेच्छिक बनाउनुपर्ने माग गर्दै मुद्दा हालेका थिए । सामाजिक सुरक्षा कोषले गत असार मसान्तभित्रै सबै बैंक तथा वित्तीय संस्थालाई कोषमा सहभागि हुन दबाब दिएपछि सम्बद्ध संस्थाका कर्मचारीहरु कोष विरुद्ध अदालत गएका थिए ।

आफूहरुले खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषले जबरजस्ति योजनामा सहभागि हुन दबाब दिएको बताउँदै आएका छन् । विभिन्न कर्मचारी संघको नेतृत्वमा वित्तीय संस्थाका कर्मचारीले गत महिनादेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । केही चरण कोष र आन्दोलनरत कर्मचारीबीच वार्ता भए पनि त्यसले यथोचित टुंगोमा पुर्याउन सकेन । त्यसपछि उनीहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएका हुन् ।