२२ कार्तिक २०८३, आइतबार

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा एकैपटक ७ वटा शाखा सञ्चालनमा



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले थप सात नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरि स्थित शाखा कार्यालय बलम्बु, नागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमल विनायक स्थित शाखा कार्यालय कमल विनायक, चितवन जिल्लाको बरुवा बजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारा मा बैङ्कले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
त्यसै गरी बैङ्कले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्ल रानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैङ्कको सङ्ख्या २ सय ५४ पुगेको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने बताएका छन् ।

बैङ्कको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ५४ वटा शाखा कार्यालय, २ सय १६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।