१३ महिनादेखि सुक्खा बन्दरगाहमा ७ हजार मेट्रिक टन मल अलपत्र, ड्यामेज भएपछि समुदायमा बाँड्ने तयारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१३ महिनादेखि सुक्खा बन्दरगाहमा ७ हजार मेट्रिक टन मल अलपत्र, ड्यामेज भएपछि समुदायमा बाँड्ने तयारी



काठमाडौं । किसानलाई अभाव भइरहने रासायनिक मल १३ महिनादेखि सुक्खा बन्दरगाहमा अलपत्र फालिएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण वीरगन्ज सिर्सिया बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फाल्न बाध्य भएको नेपाल इन्टर मोडेल यातायात विकास समितिका शाखा अधिकृत तर्कराज जोशीले बताए ।

उनले भने, यो मल त्यसै फाल्न सकिने अवस्था पनि छैन, ‘अब बरु समुदायमा लगेर बाँड्ने कि भन्ने सोच बनाएका छौँ, भिजेका कारण न्यून गुणस्तर भएको हो । प्रयोग गर्दा केही असर पुग्दैन ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको दुई ¥याक मल भिजेर कालो डल्ला परेको अवस्थामा नै बन्दरगाहमा पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । ठेक्का गरेको रासायनिक मलको पैसा भने अझै विवादमा रहेको उनले बताए ।

२०७७ असोज १८ गते आइपुगेको ४६ हजार बोरा अर्थात् २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन (५० हजार बोरा) डीएपी मल भिजेको नै पुगेको जोशीले बताए । उनी भन्छन्, बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको हामीलाई जानकारी आएको थियो । त्यो मल कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याएर राखेका थियौ ।

‘ड्यामेज मल छोड्ने कुरा भएन, व्यवस्थापनमा समस्या भयो । र अहिले यो खाली भू–भागमा फाल्नु पर्ने अवस्थामा आएको छ । जुन यो ७ हजार मेट्रिक टन मल रहेको छ । ठाउँ आगटेको छ ।

मलको क्षतिसँगै बन्दरगाहको गोदाम भाडा बोहोर्नुपर्दा मल सप्लायर्सले दोहोरो नोक्सानी बेहोरिरहेका कारण यसरी फालेको उनले स्पष्ट पारेका छन् ।


प्रतिक्रिया दिनुहोस्