सम्पत्ति शुद्धिकरण विभागको निगरानीमा परे पाँचतारे होटल मेरियटका सञ्चालक अग्रवालसहित नौ व्यवसायी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सम्पत्ति शुद्धिकरण विभागको निगरानीमा परे पाँचतारे होटल मेरियटका सञ्चालक अग्रवालसहित नौ व्यवसायी



काठमाडौँ । सम्पत्ति शुद्धिकरण विभागले नक्सालमा रहेको पाँचतारे होटल ‘होटल मेरियट’का सञ्चालक शशि अग्रवालसहित नौ व्यवसायीमाथि निगरानी बढाएको छ । अस्वभाविक तवरले सम्पत्ति बढेको देखिएपछि उनीहरूमाथि निगरानी बढाइएको विभाग स्रोतले जानकारी दियो ।

मेरियट त्यहीहोटल हो, जसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले पहिलो पटक कोभिड–१९ महामारी भएको बेलामा तत्कालिन मधेशी जनअधिकार फोरमलाई फुटाउन प्रयोग गरेका थिए ।

त्यसबेला तत्कालिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई त्यही होटलमा ल्याएर राखिएको थियो । प्राय सरकारी कार्यक्रम हुने होटलमा स्वभाविक भन्दा अस्वभाविक गतिविधि धेरै हुने गरेको देखिएको विभाग स्रोतले बताएको छ ।

अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा हराउने अभियानमा सक्रिय भयो ।

शंकर ग्रुपका मालिक शंकर अग्रवाल र उनका छोरा सुमित अग्रवाल, गण्डकी मेडिकल कलेजका सञ्चालक खुमय अर्याल, ह्याम्स अस्पतालका मालिक राम भण्डारी, पर्यटन व्यवसायी नवराज बजगाई र सप्लायर्स, ट्रेकर, होटल र पर्यटन व्यवसायी बालकृष्ण भुसाल माथि पनि विभागले निगरानी बढाएको स्रोत बताउँछ ।

त्यस्तै पर्यटन व्यवसायी राजेन्द्र बजगाई, नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक समितिका अध्यक्ष डा. सुनिल शर्मा, र लालिगुरास सहकारी संस्थाका महाप्रवन्धक सुरेन्द्र भण्डारीमाथि पनि निगरानी बढाएको विभाग स्रोतले बतायो । पर्यटन व्यवसायीद्वय राजेन्द्र र नवराज सहोदर दुई भाई हुन् ।

गतआर्थिक वर्षको पुँजीको रेसियो हेर्दा अस्वभाविक देखिएकाले आन्तरिक रुपमा छानबिन थालिएको विभाग स्रोतले जानकारी दियो । पहिला आन्तरिक रुपमा छानबिन गर्ने र पछि पत्र नै काट्ने तयारी भएको विभाग स्रोतले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस्