दानामा लाग्दै आएको कर पुरानै कायम हुनुपर्ने संघको माग
काठमाडौं । नेपाल दाना उद्योग संघले भटमासको पिनामा लाग्दै आएको कर पूरानै कायम हुनुपर्ने बताएका छन् । भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशतबाट घटाएर पुरानै दर १.६ प्रतिशत हुनुपर्ने बताएका हुन् । विगतको समयमा बंगलादेशवाट सहज रुपमा भटमास पिना आयात भईरहेकोमा हाल आएर बंगलादेशबाट भारतमा समेत निर्यात हुन थालेपछि बंललादेश सरकारले निर्यातमा रोक लगाएको छ भने तत्काल नेपालको तर्फबाट नेपाल निर्यात खुलाउन बंगलादेश सरकार समक्ष कुटनितिक पहलको लागि कार्य गर्नुपर्ने समेत जानकारी दिएका छन् ।
त्यस्तै संघले एक विज्ञप्ती जारी गर्दै मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाई पुरानै दर १.६ प्रतिशत कायम हुनु पर्नेमा पनि जोड दिएका छन् । त्यस्तै, औषधीमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम हुनु पर्ने पनि बताएका छन् । दीर्घकालीन रुपमा यी र यस्ता समस्याहरु समाधान गर्न बृहत रुपमा मकै तथा भटमास खेतीलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराउने विज्ञप्तीमा जारी गरेका छन् ।
आत्मनिर्भर भईसकेको नेपालको पोल्ट्री व्यवसायको दाना उत्पादन गर्ने उद्योगहरुलाई संरक्षण गर्ने तर्फ पहल गर्न र उत्पादन लागत कम गर्न पनि नेपालमा उत्पादन नहुने तथा अपुग हुने कच्चापदार्थमा भन्सार महसुलमा परिवर्तको लागि आगामी बजेटमा यस संघ जोडदार माग गरेका छन् ।
नेपालका दाना उद्योगहरुमा १ खर्व भन्दा बढिको लगानी गरेको पाइन्छ । जुन नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन त्यसमा पनि ६० भन्दा बढि ठुलो लगानीका गरेको पाइएको छ । सो व्यवसायले १ लाख बढिलाई रोजगारी श्रृजना गरी यूवाहरुलाई विदेशिबाट रोकेका छन् । पोल्ट्री व्यवसायले नेपालको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत योगदान पुर्याएको छ । नेपाल पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भर रहेको छ ।
दाना बनाउने कच्चापदार्थ मुख्यत मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लीमेन्टहरुको अस्वभाविक मुल्य बृद्धिबाट उत्पादन लागत बढेको छ । आर्थिक बर्ष ०७४।०७५ को बजेट सम्म दाना उद्योगहरुको लागि आवश्यक पर्ने कच्चापदार्थहरु मकै तथा भटमासको पिना १.६ प्रतिशतमा छुटदै आएकोमा २०७५।२०७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशत सम्म कृषि सुधार शुल्क बढाएकोले दानाको मुल्य वृद्धि भएको हो ।
विगत २ महिनादेखि सदर ८५ रुपैया प्रति के.जी रहेको भटमास पिना १०० र ३०–३२ रहेको मकैको रेट ३९ रुपैया प्रति के.जी रहेको छ जसको कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मुल्य पनि बढेको छ । मासु र अण्डा उत्पादन लागतमा दानाको ६० प्रतिशतको हाराहारी योगदान रहन्छ । गत आर्थिक बर्षको सुरुवातमा ६० रुपैयाँ रहेको भटमासको पिनाको मुल्य हाल १०० रुपैयाँ पुगेको छ भने २५ रुपैयाँ रहेको मकैको मुल्य हाल ३९ रुपैयाँ रहेको छ ।
दाना बनाउन आवश्यक पर्ने फिड सप्लीमेन्टहरुमा २५ प्रतिशत देखि ३० प्रतिशत सम्म बृद्धि भएको छ । मकै करिव ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२ प्रतिशत हुन जान्छ त्यसैले यसको प्रत्यक्ष प्रभाव दानाको मुल्यमा पर्दछ । वर्तमान बजारमा तयारी दानाको उत्पादन लागत मकै र भटमासको पिनाको मुल्य बृद्धिबाट बढि प्रेरित देखिन्छ ।
















