सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारीमा : मन्त्री झाँक्री
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताएकी छन् ।
व्यवस्थित वस्ती विकास गर्न ऐनको अभाव भएकोले संसदको आगामी अधिवेशनमा विधेयक पेश हुने पनि मन्त्री झाँक्रीले बताइन् ।
नगर विकास कोषको ३४ औं वार्षिकोत्सवका अवसरमा मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताइन्।
मन्त्रालयमा ५ लाखदेखि १ अर्ब रुपैयाँसम्मको योजनाका लागि बजेटको माग भइरहेको उल्लेख गर्दै उनले योजनालाई प्रथामिकतमा राखेर काम गर्नुपर्ने बताइन्। राजनीतिक स्वार्थ र भोट बैंकका लागि पालिकाहरुले मन्त्रालयसम्म आएर आयोजना माग गर्ने गरेको बताउँदै उनले त्यस्ता कार्यलाई मन्त्रालयले कदापि स्वीकार नगर्ने बताइन् ।
चुनाव नजिकिंदै गर्दा मतदातालाई खुशी पार्न माग हुने गरेका आयोजनालाई स्वीकृती नगर्दा आफ्नै पार्टिमा पनि आलोचना हुने गरेको उनले बताइन् । करीब चार महीनाको अवधिमा विभिन्न नगर विकासका लागि १६ अर्ब रुपैयाँको योजना दर्ता भएको जानकारी दिइन् ।
‘मैले मन्त्रालय सम्हालेको चार महीनामा सांसद र पूर्व मन्त्रिसहितको सिफारिसमा १६ अर्ब रुपैयाँका योजना माग भएको छ, यो गलत हो, विकास त प्राथमिकताका रुपमा क्रमिक रुपले हुनुपर्छ’, उनले भनिन्।
त्यस्तै नगर विकास कोषलाई निगमको रुपमा स्थापना गरि लगानी बढाउने समेत उनले उल्लेख गरिन् । मन्त्री झाँक्रीले नगर विकास कोष अझ सुदृढ हुन आवश्यक रहेको बताइन्।













