बलेफी हाइड्रोपावरको आईपीओमा २२ करोड रुपैयाँ संकलन
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आईतबार साँझसम्म १० हजार ४३६ जना आवेदकले २१ लाख ९१ हजार ३१० कित्ता शेयरका लागि २१ करोड ९१ लाख ३१ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । यो माग गरिएको भन्दा १.१९ गुणा बढी आवेदन परेको हो ।
बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशत अर्थात हुने १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रमा निष्काशन गर्दा यस कम्पनीको वातावरणीय प्रभाव मूल्याक्न प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं.२,३ र ४ (साविकको गोल्चे गाविस, गुम्बा गाविस र पाङताङ गाविस) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभि प्रशारण लाइनबाट प्रभावित योग्य कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन गर्नेछ । साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छट्याइएको शेयर सम्पूर्ण बिक्री नभएमा शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत) मा निष्काशन गरेको हो ।
स्थानीय लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट आवेदन दिन सकिन्छ ।
















