नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो, समाजले दायित्वको रुपमा स्वीकार गर्नुपर्छ
नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र हो, समाजले दायित्वको रुपमा स्वीकार गर्नुपर्छ
काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना द्वारा राखिएको थियो भने साहित्य परिचय अभियानका सदस्य देवेश झाले गराएका थिए । कार्यक्रम संयोजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गरेका थिए ।
स्वागत मन्तव्य दिदै तिमल्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताए । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिदै उनले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षण कालागि सञ्चालन गरिएको बताए ।
साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झाद्वारा गत साउन महिना देखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरण बारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको थियो । आफ्नो स्वास्थ्य जटिलता का कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको सन्देश पढेर सुनाइएको थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देश मार्फत हिन्दु राष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमान संग जोडिएको विचार व्यक्त गरे ।
यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेलले धर्म विहिन राष्ट्र हुन सक्दैन बताउदै प्राचीनकाल देखि नै नेपाल एक वैदिक सनातन हिन्दु राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुनलाग्यो भने पुरानै अबस्थामा ल्याउन सबै हिन्दुहरूले आ(आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दु राष्ट्र को रुपमा रहँदा संसारभर का हिन्दूहरूको तिर्थस्थल रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले नेपाल हिन्दु राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउँदै आफ्नो अस्तित्व जोगाउनका लागि पनि यस अभियानमा जोडिनुपर्ने बताए । राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रन्याले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षता लाई जबर्जस्ती अंगालेको आरोप लगाए ।
समापन मन्तव्य दिदै कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्रीले अभियानलाई ६६ जिल्ला सम्म पुर्याइएको चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दु राष्ट्र नेपालमा शासन पद्धति जुनसुकै भएपनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गरे । अभियानका सदस्य प्रह्लाद रेग्मीद्वारा सञ्चालित उक्त कार्यक्रम मा सामूहिक साहित्य विमोचन र ऋतु लामाद्वारा एकल गायन प्रस्तुत गरिएको थियो ।













