बलेफी हाईड्रोपावरको आईपीओ चैत १६ गतेदेखि बिक्री खुला गरिने
काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले चैत १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छट्याईएको छ ।
कम्पनीको आईपीओमा छिटोमा चैत २१ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।













