ग्रीन भेन्चर्सको आईपीओमा ५ गुणा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा दोस्रो दिन ५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख ७१ हजार ५५२ जना आवेदकले १ करोड ३३ लाख ९ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ४.६३ गुणा बढी हो ।
कम्पनीले चैत ८ गते मंगलबारदेखि निष्काशन ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले यसअघि फागुन २ गतेदेखि फागुन २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गरिसकेको छ । त्यसैले चैत ८ गतेदेखि खुला हुने आईपीओमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् ।













