१३९ करोड रुपैयाँमा नेपाल वेयर हाउजिड्ग सञ्चालनमा, कृषकले उत्पादन गरेका खाद्यान्न भण्डारण गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१३९ करोड रुपैयाँमा नेपाल वेयर हाउजिड्ग सञ्चालनमा, कृषकले उत्पादन गरेका खाद्यान्न भण्डारण गर्ने



काठमाडौं । कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा स्थापित नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ औरावनीमा निर्माण सम्पन्न भएको छ । उक्त खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ आज भएको छ । साथै, पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नेछ । कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ। ।

यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ । साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रुपैयाँ रहेकोमा सो लगानी मध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजी परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ ।

यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन् । यस कम्पनीमा उपरोक्त लगानीकर्ताहरुबाट रु कूल चालु पूँजी ६८.७५ करोड रुपैयाँको ८० प्रतिशत ले हुन आउने ५५ करोड रुपैयाँको शेयर लगानी भइसकेको छ । साथै, आगामी आर्थिक वर्ष २०७९–८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २० प्रतिशत बराबरको रकम १३.७५ करोड रुपैयाँ जम्मा गरिनेछ ।

सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं २ औरावनीमा कम्पनीले निर्माण सम्पन्न गरेको भण्डारण गृहको व्यवसायिक शुभारम्भ चैत्र २० गते आइतवार विहान ११ः३० बजे सोहि भण्डारण गृह परिसरबाट गरिने कार्यक्रम तय भएको छ । यो भण्डारण गृहको कूल क्षमता १५ हजार मे.टन रहेको छ। यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ।


प्रतिक्रिया दिनुहोस्