शेयर बजारमा गभर्नर अधिकारी निलम्बनको प्रभाव - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजारमा गभर्नर अधिकारी निलम्बनको प्रभाव



काठमाडौं । सोमबार शेयर बजार भारि अंकले गिरावट आएको छ । आर्थिक संकटको दबाव बढ्दै गएका बेला शेयर बजार पनि निरन्तर ओरालो लाग्दै आएको छ । गत साताको अन्तिम दिन हरियाली छाएको शेयर बजारमा पुन राताम्य छाएको हो । सोमबार कुनै पनि समूहमा हरियो देखिएको छैन् ।

तर कारोबार खुलेको केही समय हरियाली छाएको बजारमा बन्द हुने बेलामा राताम्य छाएको हो । स्वायत्त निकाय नेपाल राष्ट्र बैंक माथि सरकारले गरेको हस्तक्षेपका कारण शेयर बजारमा प्रभाव पारेको शेयर विज्ञहरु बताउँछन् । कारोबार शुरु भएको केही समय बजार बढेपछि गभर्नर निलम्बनले बजारमा सकारात्मक प्रभाव पारेको भन्दै लगानीकर्ता उत्साहित भएका थिए । तर लगानीकर्ताको उक्त उत्साह निराशामा परिणत भएको हो ।

बजारमा तरलता अभाव कायम र ब्याजदर बढेका कारण पनि शेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.६४ अंकले बन्द भएर २४१९.७१ अंकमा बन्द भएको हो । यसअघि गत साता विहीबार नेप्से सूचक ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा बन्द भएको थियो ।

त्यस्तै, सोमबार दिनभरिमा २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर ४० हजार ५०७ पटक किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत साता बिहीबार दिनभरिमा २२४ कम्पनीको ५४ लाख ४१ हजार ७३८ कित्ता शेयर ४२ हजार ५०६ पटक किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ बराबरको कारोबार भएको थियो । ।

सोमबार बैंकिङ समूह ०.८८ प्रतिशत, ब्यापार समूह २.७८ प्रतिशत, होटल तथा पर्यटन समूह २.२२ प्रतिशत, विकास बैंक समूह १.५१ प्रतिशत, हाइड्रोपावर समूह २.१४ प्रतिशत, फाइनान्स समूह २.३८ प्रतिशत, निर्जीवन बीमा समूह १.३६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह २.२ प्रतिशत, अन्य समूह ४.६२ प्रतिशत, माकइक्रोफाइनान्स समूह १.०७ प्रतिशत, जीवन बीमा समूह ३.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य ९.९ प्रतिशत बढेको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयर मूल्य ९.९८ प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ९.९२ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्