प्रतिकित्ता १४१ रुपैयाँमा एनसीसी बैंकको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछ ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले केही संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापकहरुको नाममा रहेको शेयर आज जेष्ठ २४ गतेदेखि बिक्री गर्ने भएको हो । बैंकले जेष्ठ २४ गतेदेखि असार ७ गतेसम्म ८ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
बैंकको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । इच्छुक खरिद गर्ने लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । बैंकको उक्त शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्ने भएको हो ।














