पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सन्तुलित नतिजा: खुद नाफा ६७ करोड १४ लाख, वितरणयाेग्य मुनाफा कति ?
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र घट्दो ब्याजदरका बीच बहुराष्ट्रिय लगानी रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सन्तुलित वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी तथा खुद नाफामा सामान्य संकुचन देखिए पनि इम्पेयरमेन्ट रकम फिर्ता (राइटब्याक) हुँदा सञ्चालन मुनाफा तथा पहिलो त्रैमासिकको वितरणयोग्य नाफामा सुधार देखिएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असार मसान्तदेखि असोज मसान्तसम्म) मा बैंकले ६७ करोड १४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा २.९९ प्रतिशतले कम हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७ करोड २४ लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २ करोड ९८ लाख ८० हजार रुपैयाँमा झरेको छ।
त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी २५.७४ प्रतिशतले घटेर ३० करोड ९१ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ। तर विदेशी मुद्रा तथा ट्रेडिङ कारोबारबाट हुने आम्दानी ५३.९६ प्रतिशतले विस्तार भई २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ पुगेको छ। यी आम्दानीसहित बैंकको कुल सञ्चालन आम्दानी २.८२ प्रतिशतको संकुचनसहित १ अर्ब ६३ करोड ४२ लाख ८९ हजार रुपैयाँ कायम भएको छ।
कुल सञ्चालन आम्दानी घटे पनि बैंकको सञ्चालन मुनाफामा भने ९.४० प्रतिशतको वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंकले सम्भावित जोखिम बापतको इम्पेयरमेन्ट खर्चबाट ६ करोड ४२ लाख ४९ हजार रुपैयाँ फिर्ता (राइटब्याक) गर्न सफल भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ८६ लाख रुपैयाँ इम्पेयरमेन्ट खर्च भएको थियो। यसले गर्दा बैंकको सञ्चालन मुनाफा ९८ करोड ९३ लाख ७७ हजारबाट बढेर १ अर्ब ८ करोड २३ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
नाफामा सामान्य दबाब देखिए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको कमाइबाट बाँड्न मिल्ने नाफा भने सामान्य वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकले पहिलो त्रैमासबाट ४१ करोड ५७ लाख ९७ हजार रुपैयाँ वितरणयोग्य नाफा जोडेको छ, जुन गत वर्षको यसै अवधिमा ४१ करोड ४६ लाख ८२ हजार रुपैयाँ थियो। असोज मसान्तसम्म बैंकको कुल सञ्चित वितरणयोग्य कोष २ अर्ब २२ करोड ८२ लाख ६ हजार रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.८३ प्रतिशत मात्र रहेको छ भने कर्जा नोक्सानी सुरक्षण अनुपात १४२.५९ प्रतिशत रहेको छ।
नाफामा आएको सामान्य गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २७.५७ रुपैयाँबाट केही घटेर २६.७४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २३२.७४ रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारतर्फ बैंकको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा स्थिरतासहित सामान्य सुधार देखिएको छ। गत असार मसान्तको तुलनामा बैंकको कुल निक्षेप संकलन १.१५ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब ३८ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट १.७० प्रतिशतले विस्तार भई ६७ अर्ब २२ करोड ३७ लाख रुपैयाँ पुगेको छ।















