१५ श्रावण २०८३, शुक्रबार

भारतीय कम्पनीले लियो पश्चिम सेती निर्माणको जिम्मा, १ अर्ब ४८ करोड डलर लाग्ने अनुमान



काठमाडौं । नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने भएको छ । लगानी बोर्डको ५१औं बैठकले सो निर्णय गरेको हो ।

प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो । एनएचपीसी लिमिटेड भारत सरकारको पावर मन्त्रालयको स्वामित्वमा रहेको भारतीय सरकारको जलविद्युत बोर्ड हो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँगको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको सम्झौता तोडेपछि अहिले भारतीय कम्पनीलाई दिएको हो ।

चिनियाँ कम्पनीले निर्माण जिम्मा दिएपछि भारतले चीनले निर्माण गरेको विद्युत खरिद गर्न इन्कार गरिरहेको थियो । अब भने ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतले नै पाएको छ ।

यी दुई आयोजना निर्माणका लागि २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको १ अर्ब ४८ करोड डलर र सेती नदी– ६ मा ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री देउवाले बेला बेला भाषणमा पश्चिम सेति नेपालले नै बनाउने प्रतिबद्धता जनाउदै आएकोमा अहिले भने भारतीय कम्पनीलाई जिम्मा दिएका हुन । पश्चिम सेती सुदुर पश्चिम प्रदेशको विकासको मुल स्रोत मानिदै आइरहेको छ ।