अर्थमन्त्रीलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउँ, अर्थमन्त्रालय चलाउन सक्नुभएनः सांसद प्रकाश रसाईली
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली (स्नेही) ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । विनियोजन विधेयक २०७९ को छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद स्नेहीले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।
बरु अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री वा राष्ट्रपति पद दिएर अर्थमन्त्रीमा अर्को व्यक्ति ल्याउनु पर्ने उनको भनाई थियो । बजेटमा मन्त्री शर्माले केही व्यापारीहरूलाई मात्रै फाइदा हुने गरी व्यवस्था गरेकाले सांसद स्नेहीले उनको राजीनामा मागेका हुन् । ‘अर्थमन्त्रालय तपाईंले चलाई रहनु भएको छ की एकदुई जना व्यापारीले चलाई रहेका छन् ? म सम्माननीय प्रधानमन्त्रीलाई मात्रै भन्दिन, जुन पार्टीबाट उहाँ अर्थमन्त्रीको नेतृत्व गरिरहनु भएको छ, माननीय पुष्पकमल दाहालज्यू, माननीय पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, माननीय उपप्रधानमन्त्रीलाई भन्छु ।’ उनले भने, ‘बरु हाम्रो अर्थमन्त्रीज्यूलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउँ, उहाँले अर्थमन्त्रालय चलाउन सक्नुभएन ।’
जनार्दन शर्मा अर्थमन्त्री बनेपछि ३ सयदेखि ४ सय उद्योगी व्यवसायीहरू सडकमा आउने र संसद्, सरकार र प्रधानमन्त्रीलाई तालाचाबी बुझाउने अवस्था आएको उनले आरोप लगाए । ‘कांग्रेसलाई त एउटा आरोप पनि लागेको छ । कांग्रेसले उद्योग देखि सहन्न भन्ने आरोप छ । म यो संसद् र संसदीय समितिमा मात्रै होइन, त्यो भन्दा बाहिर रहेर पनि जुनजुन उद्योग ध्वस्त गर्ने गरी अर्थमन्त्रीले बन्चरो चलाउनु भएको छ, त्यसमा बहस गर्न तयार छु ।’
अर्थमन्त्री बन्नुभन्दा अघि १ हजार ६५० प्रतिमेट्रिक टन भारतबाट ब्लेड आयात हुने गरेकोमा प्रतिस्थापन अध्यादेशबाट मन्त्री शर्माले दुईचार उद्योगी व्यापारीलाई फाइदा गर्नेगरी २ हजार ५ सय प्रतिमेट्रिक टन आयात गर्ने व्यवस्था मिलाएको उनले आरोप लगाए ।
बजेटमा स्पन्ज आइरन उद्योगहरूलाई १ प्रतिशत ट्याक्स लगाएर २ हजार ५ सयबाट ३ हजार ५ सय प्रतिमेट्रिक टन आयात गर्ने व्यवस्था मिलाएको सांसद स्नेहीको आरोप छ । उनले भने, ‘आज ति स्टिल उद्योगहरू जसले अर्बाै राजश्व तिरेका छन्, लाखौ मानिसलाई रोजगार दिएका छन्, करोडौं पैसा बैंकबाट लोन लिएका छन्, आज ४ वटा उद्योगहरू बन्द भइसकेँ, २० वटा उद्योगहरु बन्द हुने प्रक्रियामा छन् । के उद्योगमन्त्रीले बजेट ल्याउँदाखेरि बजेटको बुक हेर्न पाउनु भएन ?













