आजको दिन किन मनाइन्छ गोरु तिहार, म्ह पूजा र गोवर्द्धन पूजा ?
काठमाडौं । हिन्दु धर्ममा चेतनाको प्रतिक र देवादिदेव, सर्वब्रह्म, परमब्रह्म वा परमात्मा भनिने परमेश्वर शिवको बाहन हो– नन्दी (साँढे वा गोरु)। तिनै शिवलाई महाकाल पनि भनिन्छ ।
मृत्युको देवता यसराजको अर्को नाम काल हो भने शिवजीको अर्को नाम महाकाल । उनलाई प्रलयको देवता मानिन्छ । भाैतिक संसारमा जे जति वस्तुहरू देखिन्छ, यी सबै मिथ्या हुन् भन्ने हिन्दु शास्त्रीय (वेदान्त दर्शनकाे) मान्यता छ । यसकाे अर्थ संसार झुठाे हाेइन र सत्य पनि हाेइन । केवल भ्रामक सत्य हाे ।
ब्रह्माण्डकाे मूल स्रोत चैतन्य हाे । चेतन उर्जाले सघन रूप लिएर आकार बनाएपछि संसार बन्छ । र याे संसारकाे मिथ्या आकार अन्त्य भएर पुनः शुध्द चेतना स्थापित हुन्छ । यही आकाररूपी संसारका मिथ्या वा भ्रामक पर्दाहरू हटाएर शुध्द चेतना स्थापित हुनुलाई नै शिव भनिएकाे हाे ।
विज्ञानले पुष्टि गरेकाे “ब्ल्याक हाेल” भनेजस्तै ब्रह्माण्डकाे समस्त आकारलाई जसले निलिदिन्छ, त्याे निराकार शक्ति नै “काल” हाे । र जुन महाशक्तिले ती सबै “ब्ल्याक हाेल” लाई नै निलिदिन्छ, त्याे “महाकाल” हाे ।
त्यस्ता महाकालको भार उठाउने वाल साँढे वा गोरु वा नन्दीको पूजा गरेर यमपञ्चकको चौँथो दिनलाई उत्सव बनाइन्छ ।
साँढे अत्यधिक शक्तिशाली र उग्र जीव हो। तर जब त्यसलाई तालिम दिइन्छ वा काबुमा राखिन्छ, तब त्यो शान्त र आज्ञाकारी बन्छ। यसैगरी, मानिसको मन र कामवासना पनि साँढेजस्तै उग्र हुन्छन्। जब चेतना (शिव) ले ती अनियन्त्रित इन्द्रिय र ऊर्जालाई आफ्नो नियन्त्रणमा राख्छ, तब त्यो ‘नन्दी’ बन्छ।
प्राचीन धर्मशास्त्रहरूमा नन्दीलाई चार खुट्टा भएको ‘धर्म’ भनिएको छ- सत्य, सौच (पवित्रता), दया र दान। नन्दीको चारै खुट्टाको अर्थ यही नैतिक र आध्यात्मिक आधार हो जसले ब्रह्माण्डको भार थामेको छ। अर्काे अर्थमा हेर्ने हाे भने, नन्दी संस्कृत शब्द ‘नन्द’ बाट आएको हो, जसको अर्थ ‘आनन्दित’ वा ‘प्रसन्न’ हुन्छ। जसको मन र ऊर्जा पूर्ण रूपमा अनुशासित र आनन्दित हुन्छ, उसले महाकालको गति र भारलाई समेत सहजै सहन गर्न सक्छ।
शिव पुराणमा नन्दीलाई महर्षि शिलादका पुत्रका रूपमा वर्णन गरिएको छ, जो कठिन तपस्यापछि भगवान शिवका प्रिय गण र द्वारपाल बनेका थिए। पुराणहरू अनुसार नन्दीले सबै धर्म, ज्ञान र योगको प्रतीकका रूपमा शिवको वाहनको स्थान लिएका हुन्।
लिङ्ग पुराण र कूर्म पुराणहरूमा पनि महाकाल र प्रलयको चर्चा गर्दै भनिएकाे छ- जब सम्पूर्ण संसार र भौतिक आकारहरू कालमा समाहित हुन्छन्, तब केवल शुद्ध चेतना मात्र बाँकी रहन्छ। त्यस अवस्थामा धर्म (नन्दी) ले त्यो चेतनाको वाहन बनेर स्थिरता प्रदान गर्छ।
तन्त्र साधना अनुसार ‘शिव’ भनेको चेतना हो र ‘शक्ति’ वा ‘प्रकृति’ भनेको गतिशीलता हो। याेगिक मार्गमा नन्दी भनेकाे मन हाे । र भाैतिक दुनियाँमा नन्दीकाे अर्थ गुरुत्वाकर्षण वा ब्रह्माण्डको सन्तुलन कायम राख्ने स्थिर शक्ति (डार्क म्याटर) हाे । जसरी महाकालको असीम शक्तिलाई धान्न स्थिर धरातल चाहिन्छ, त्यसैगरी चेतनाको यात्रामा अडिग रहने धैर्य र अनुशासन नै ‘नन्दी’ हो।
यही नन्दीकाे सम्मानमा तिहार (यमपञ्चक) को चौथो दिन हल (हली) तिहार वा गोरु पूजा मनाइन्छ ।
म्हपूजा
काठमाडौँका नेवार समूदायले यस दिन म्हपूजा भनेर आफ्नो शरीरको पूजन गर्छन् । आफ्नो चेतनारुपी आत्मालाई निवास दिने शरीरलाई पूजा गरेर यस शरीरको सुस्वास्थ्य एवम् सबलताको प्रार्थना गर्छन् । यहाँ नन्दीकाे स्वरूप मन नभएर शरीर हुन्छ । हाम्रो आत्मालाई परमात्मासँग साक्षात्कार गराउन शरीरको आवश्यकता पर्छ । यही शरीरले परम चेतनारूपी उर्जालाई अड्याएकाे हुन्छ । तसर्थ यही नन्दी हाे ।
शिवलाई भेटाउनमा जसरी नन्दीले सघाउँछन्, त्यसरीले नै हाम्रो आत्मालाई परमात्मासँग भेटाउने नन्दी भनेको हाम्रो शरीर हो । यही शरीरले योग, ध्यान, प्रार्थना, पून्य-कर्म, लोकहित र जनकल्याण आदी कर्म गरेर आत्मालाई परमात्मासँग मिलाउनमा सघाउँछ ।
यो त उही कुरा हो । जुसरी हामीले फेसबूक, ट्वीटर, युट्युब वा मोबाइल बैंकिङका एपहरु (सफ्टवयर) चलाउँछौँ– ती सबै आत्मा स्वरुप हुन् । आत्मा भनेकाे परम् चेतना स्वरुप शिवकै अंश हाे । र ती सबै एपहरु चलाउनका लागि मोबाइल डिभाइस (हार्डवयर) हाम्रो शरीर हो । मोबाइल नभए ती एप चलाउन सकिन्न, एप नभए मोबाइलमात्रै भएर पनि चल्दैन ।
यस अर्थमा हाम्रो आत्माको वहान वा नन्दी नै शरीर हो । त्यसैले आज नन्दीको र शरीरको पूजा हुन्छ । आत्मा र शरीरलाई यही परिपुरक सम्झेर आजको दिन शारीरिक बल, स्फूर्ति, साहस र आरोग्यको प्रार्थना गर्ने प्रचलन छ । यसका लागि म्ह पूजा गरिन्छ ।
गोवर्द्धन पूजा
आजैको दिन गोवर्द्धन पूजा पनि गरिन्छ ।
पौराणिक कथा अनुसार द्वापर युगमा ब्रजवासीहरूले वर्षाका देवता इन्द्रको पूजा गर्ने गरेका थिए। अहंकारले चूर भएका इन्द्रले आफ्नो पूजा रोकिएमा प्रलय ल्याउने चेतावनी दिए। तब भगवान श्रीकृष्णले ब्रजवासीहरूलाई सम्झाउँदै भने- “हामीलाई अन्न दिने गोबर्द्धन पर्वत र हाम्रो जीवन बचाउने गाई-गोरु तथा प्रकृति नै हाम्रा वास्तविक पूजनीय हुन्, कुनै अमूर्त देवता होइनन्।”
श्रीकृष्णको कुरा मानेर ब्रजवासीहरूले इन्द्रको पूजा गर्नुको सट्टा गोवर्द्धन पर्वत र गाईहरूको पूजा गर्न थाले। रिसाएका इन्द्रले मुसलधारे वर्षा र आँधीबेहरी गराएर ब्रजलाई डुबाउने प्रयास गरे । तब भगवान श्रीकृष्णले आफ्नो हातकाे कान्छी औंलाले सिंगै गोवर्द्धन पर्वत उठाए । समस्त ब्रजवासी र गाईवस्तुहरू त्यही पर्वतकाे छानाेमुनी पसे र हात्तिसुँढे वर्षाकाे चपेटाबाट जाेगिए ।
यसरी आफ्नाे अहंकारको हार भएपछि इन्द्रले श्रीकृष्णसँग क्षमा मागे। त्यसैको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने रिति बस्यो।
गोवर्द्धन पूजाले हामीलाई सिकाउँछ- ‘मानव जीवन प्रकृतिको कृपामा टिकेको छ।’ पर्वत, जङ्गल, नदी र माटोले हामीलाई बाच्नका लागि आवश्यक पानी, अक्सिजन र अन्न दिन्छन्। गोवर्द्धन पर्वतलाई पूजा गर्नु भनेको सम्पूर्ण पृथ्वी र प्राकृतिक सम्पदाप्रतिको आभार प्रकट गर्नु हो।
यसनिम्ति गाउँघरमा गोबरको एउटा सानो पहाडजस्तो थुम्को बनाउने, त्यो थुम्कोको टुप्पामा सानो खाल्डो पारेर पानी राख्ने र पूजा गर्ने चलन छ । यसले वर्षातको भयबाट मान्छेलाई सुरक्षित राख्छ भन्ने मान्यता छ । खासगरी पशुपालक, गौपालक किसानले यस पर्वलाई विशेष महत्व दिने गरेका छन् ।
कृषि र ढुवानीकाे साथी
किसानले गोरुको पूजा गर्नुको अर्को पनि महत्व छ । पछिल्लो दशकमा खेत जोत्न ट्याक्टर र ढुवानी गर्न विभिन्न मालबाहक साधनहरुको व्यापक प्रयोग बढेको छ । तर एक दशक अघिसम्म पनि पहाडी क्षेत्रमा खेतबारी जोत्न र तराईमा ढुवानीका लागि समेत गोरुको खुब प्रयोग हुने गरेको थियो । समथर भागमा जोत्नका लागि राँगा पनि प्रयोग हुन्थ्यो । तर पहाडका सुर्कासार्कीमा राँगाले जोत्न सम्भव नहुने हुँदा गोरुमात्रै विकल्प थियो ।
यसरी हजारौँ वर्षसम्म गोरुले मान्छेको शारीरिक पोषणका लागि अन्न उब्जाउन सहायक बन्दै आयो । गाईले दूध र गोरुले अन्न दिने कारण पनि यसको महत्व हाम्रो जीवनमा असाधारण छ । त्यसैले मानिसहरुले आफ्ना लागि महत्वपूर्ण मानिएका सबै कुरालाई ‘भगवान’ मानेर पूजा गर्न थालेको हुनसक्छ ।
गोरुको यही परोपकारी सहायतालाई स्मरण गरी आज देशभर गोरु तिहार, म्ह पूजा र गोवर्द्धन पूजाको उत्सव मनाउँदै तिहारको विशेष दिन भाइटीकालाई स्वागत गर्ने चलन छ ।
यसै कारण आज जुनसुकै कुराको पूजन गरे पनि र जुनसुकै परम्परामा मनाए पनि वास्तवमा शरीरको पूजा गर्ने दिन हो । यसकै भरणपोषण गर्ने र यसैको दिर्घायूको कामना गर्ने दिन हो । नन्दीको कानमा बोलेपछि ध्यानमा भएका शिवजीले पनि सुन्छन् भन्ने मान्यताले पनि आफ्नो शरीरको दीर्घायुको कामना गर्ने मौका दिन्छ ।
आजैको दिनबाट चन्द्रमासमा आधारित नेपाल सम्वत् पनि थालनी हुन्छ । आजबाट प्राचीन नेपाल खाल्डाे अर्थात् काठमाडाैँ उपत्यकाकाे क्यालेन्डरमा नेपाल संवत् ११४७ काे थालनी भएकाे छ ।















