दोर्दी खोला जलविद्युतको आईपीओमा पहिलो दिन मै करिब ३ लाखको आवेदन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा पहिलो दिन मै २ लाख ९६ हजार १३ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ साढे ५ बजेसम्म ३५ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबारको ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका हुन् ।
जुन मागभन्दा १ दशमलव ७७ गुणा बढी आवेदन परेको हो । कम्पनीले आज (जेठ२६ गते, बिहीबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता शेयर (आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता समेत) साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १७ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ ३१ गते सम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आषाढ ९ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।













