अर्थमन्त्री शर्मालाई राजीनामा दिन प्रधानमन्त्री देउवाको दबाव - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थमन्त्री शर्मालाई राजीनामा दिन प्रधानमन्त्री देउवाको दबाव



काठमाडौं । विवादै विवादले घेरिएपछि अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिनु पर्ने दबाव बढ्दै गएको छ । नियुक्त हुँदा देखि नै विवादित बनेका मन्त्री शर्मालाई प्रधानमन्त्री शेर बहादुर देउवाले समेत राजीनामा दिन दबाव दिएका छन् ।

पछिल्लो समय बजेट निर्माणका बेला अनधिकृत ब्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दरमा परिवर्तन गरेपछि राजीनामा दिन प्रधानमन्त्री देउवाले दबाव दिएका हुन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई बालुवाटार बोलाएर छिटो राजीनामा दिन निर्देशन दिएको स्रोतले बताएको छ ।

बुधबार प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई बोलाएर बजेट पारित लगायतका विषयमा छलफल गरेका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिँदासम्म पारित गर्न सकिने अवस्था नरहेको प्रधानमन्त्री देउवाले बताएका थिए । ‘अर्थमन्त्रीमा बसिरहँदा बजेट पास गराउन सकिँदैन । बजेट ढिलो हुँदा अन्य महत्वपूर्ण अध्यादेशदेखि आगामी निर्वाचनलाई समेत प्रभाव पर्छ । प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोतले भने, ‘तपाईलाई हटाउने चाहना थिएन । परिस्थिति बदलिएको हुँदा राजीनामा दिएर वातावरण सहज बनाउनुहोस ।’

तर अर्थमन्त्री शर्माले भने आफुलाई नियोजित रुपमा फसाउन खोजिएको मात्रै जवाफ दिए । अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री शर्माले बजेट निर्माणमा ठूलो चलखेल गरेको आरोप लागदै आएको छ । राजश्व, करका दर परिवर्तन, दायरा निर्धारणमा अर्थमन्त्रीले ठूलो चलखेल गरेको आशंका गरिएको छ ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आफ्नै निवासमा बोलाई बजेटमा अनाधिृकत व्यक्तिको भूमिकाका बारेमा सोधेका थिए । जवाफ शर्माले आफूबाट केही गल्ती भएको बताएका थिए ।

विवादित अर्थमन्त्री शर्माको तीब्र आलोचना भइरहेको छ । अर्थ विज्ञहरुले बजेट सेटिङमा आएको आरोप लगाएका छन् । शर्माले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएका थिए । नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरुद्ध गर्दै आएको छ । साथै एमालेले संसदीय समिति बनाएर छानविन गर्न माग गरिरहेको छ ।

यसअघि अर्थमन्त्री शर्माले शंकास्पद ४० करोड रुपैयाँ छुटाउन राष्ट्र बैंकलाई निर्देशन दिएका थिए । तर उक्त निर्णय नमान्दा गभर्नर अधिकारीलाई नै निलम्बन गरेका थिए । विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री स्वयंले तोक आदेश दिएका थिए । सोहि विषयलाई लिएर गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको थियो । पछि सर्वोच्च अदालतले पुनः बहाली गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्