लगानी गर्ने होइत त ? राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले जेठ २४ गते देखि असार ७ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा सो अवधि भित्र माग बमोजिम आवेदन नपरेको हुँनाले असार १० गतेसम्म थप गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।














