एसवाई प्यानल नेपाल आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता असार १२ गते आइतबार सम्पन्न भएको हो ।
सम्झौतामा एस वाई प्यानल नेपाल लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई डोङ्गिल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
असार २० गते स्थापना भएको एस.वाई. प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस.वाइ. कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा, वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत एफआर ३ फाइर रेटिङ्ग भएको इपिएस प्यानल, यूपिभिसिको झ्याल तथा ढोका, स्टिल ढोका, एबिसि ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौँ घरहरु, फ््याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको जानकारी सम्झौताका बखतमा कम्पनीका प्रबन्ध सञ्चालकले गराएको थिए ।













