अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन, कति पर्यो आवेदन ?
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनको आईपीओमा आवेदन दिने बुधबार (असार २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
सीडीएसका अनुसार आज मंगलबार (असार २८ गते) बिहान १० बजेसम्ममा १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.७४ गुणा बढी आवेदन हो ।
कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएकोमा र बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओबाट प्राप्त हुने रकम आयोजना निर्माणका लागि विभिन्न बैंकहरूबाट लिइएको कर्जा रकमको भुक्तानीमा उपयोग गर्नेछ । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी डबलबी (आईएस) निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।













