१६ श्रावण २०८३, शनिबार

अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र र मिलेमतो गर्ने शिक्षक कर्मचारी माथि छानबिन गर्ने अनेरास्ववियुको माग



काठमाडौ । नेकपा एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले परीक्षा प्रणालीमा देखिएको समस्यालाई रोक्न त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो ।

अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक तथा कर्मचारीको अध्ययन गरी प्रतिवेदन गरी सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गर्नुका साथै प्रश्न बैङ्कलाई वैज्ञानिक बनाउन माग गरिएको छ । पछिल्ला समयमा त्रिविका विभिन्न तह र विषयका प्रश्नपत्र निर्माणमा निकै त्रुटि देखिँदै आएको छ । प्रश्नपत्र निर्माणमा देखिएको गैरजिम्मेवार कार्यप्रति त्रिवि त्यति जिम्मेवार देखिएको पाइएको छैन । त्रुटि गर्ने प्रश्नपत्र निर्माणकर्ताको नामसमेत सार्वजनिक गरिएको छैन भने आँशिक रूपमा अध्यापन गर्नेहरूलाई प्रश्नपत्र निर्माणमा प्रयोग गरिएको पाइएको छ ।

परीक्षा सम्पन्न भई १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिनभित्र सार्वजनिक गर्न माग गर्दै सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्र प्रकाशित गर्न माग समेत अनेरास्ववियुको रहेको छ ।