श्वेत– गंगा हाइड्रोपावरको आईपीओमा झण्डै १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

श्वेत– गंगा हाइड्रोपावरको आईपीओमा झण्डै १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । श्वेत– गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडलेको आईपीओ झण्डे १ अर्ब रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार बिहीबार (साउन ५ गते) साँझ ५ बजेसम्ममा ८ लाख २९ हजार ४११ जना सर्वसाधारणले ९६ लाख १३ हजार ८८० कित्ता बराबरको ९६ करोड १३ लाख ८८ हजार रुपैयाँका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ४.२३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा आवेदन दिने समय साउन ८ गतेसम्म रहेको छ भने सो अवधि भित्र माग बमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म थप हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्