१६ श्रावण २०८३, शनिबार

तीनकुने चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा, ४१ जना पक्राउ



काठमाडौं । तीनकुनेको गैरिगाउँमा चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मार्ने क्रममा ४१ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष रहेका छन् । उनीहरुमध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ । प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा अवरोध गर्न खोज्ने ८ महिलालाई गौशाला लगिएको हो ।

उनीहरुले स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर चलाएका थिए । उक्त कम्पनीको नामबाट साइबर अपराध भइरहेको सूचनाको आधारमा सोमबार काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको हो ।
यो कम्पनीमा प्रहरी टोली ६ महिनाअघि पनि पुगेको थियो । कल सेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएपछि कर्मचारीले प्रहरी कन्ट्रोल १०० मा फोन गरेको प्रहरी स्रोतल् जनाएको छ । त्यसक्रममा प्रहरी वृत्त, गौशालाको टोली गैरिगाउँस्थित कार्यालयमा पुगेको थियो ।

‘सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि सबैको मोबाइल जफत गरेपछि कर्मचारी र सञ्चालनबीच झगडा भयो । विवाद बढेपछि प्रहरीलाई पनि त्यहाँ बोलाइएको थियो ।’

तर प्रहरीले त्यसबेला छलफल गरेर छाडेको थियो । आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि छापा हानेको हो । त्यसक्रममा ७ जना महिलाल् अवरोध गर्न खोजेकाले नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।