अर्थ मन्त्रालय फर्किने तयारीमा शर्मा, प्रचण्ड र देउवाबीच भयो सहमति
काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा फर्काइने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।
शर्मा माथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो । एमालेले भने शर्माले अनुचित व्यक्ति प्रवेश गराएर प्रमाण नष्ट गरेको भन्दै छनविन समितिको प्रतिवेदनमा फरक मत राखेको छ ।













