कास्कीमा सोमबार बिहान गएको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु
काठमाडौं । कास्कीमा सोमबार बिहान आएको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । पहिरोमा परि पोखरा महानगरपालिका–६, डिहिको पाटनमा सन्तोष सुनारको मृत्यु हो । एकजना घाइते भएका छन् । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार सोही घरमा भाडामा बस्दै आएका घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । सो घटनामा माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोलाका २७ वर्षीया सुनिता सुनार भने घाइते भएकी छन् ।
उनी मृतकका दिदी हुन । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि अबिरल वर्षा भइरहेको छ ।












