१७ श्रावण २०८३, आइतबार

नेपाल टेलिभिजनको स्याटेलाइट भाडामा लिन गरीएको टेण्डर प्रकृया नै रोक्ने चलखेल विफल



काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट भाडामा लिनका लागि माग गरीएको टेण्डर प्रकृया नै रोक्ने चलखेल विफल भएको छ । सरकारी टेलिभिजन संस्था नेपाल टेलिभिजनले यहि जुन १७ तारिखमा ग्लोबल टेण्डरमार्फत टेलिभिजनलाई आवश्यक पर्ने स्याटेलाइट ब्याण्डविथको लागि माग गरेको थियो ।

सो टेण्डरमा टेलिभिजनले आफूलाई आवश्यक पर्ने २५ मेगाहर्ज ब्याण्डको स्ट्याण्डर्ड सी ब्याण्ड स्याटेलाइट सेगमेन्ट जियोस्टेशनरी स्याटेलाइटमा आवश्यक भएको भन्दै टेण्डर हालेको थियो ।

सो टेण्डरमार्फत टेलिभिजनले आफूलाई आवश्यक पर्ने ब्याण्डविथ सस्तो मूल्यमा खरिद गर्ने योजना गरेको भएपनि सो टेण्डर प्रकृया नै रोक्न शुरुवातदेखि चलखेल भएको भैरहेको थियो ।

टेलिभिजनले गरेको टेण्डरमार्फत हाल एपीस्टारले १,४९९ अमेरिकी डलर प्रतिमेगाहर्जमा रकम हालेको छ भने अर्को स्याटेलाइट कम्पनी इन्टेलस्याटले १,६०० डलर र सबैभन्दा सस्तो मूल्य एशियास्याटले १,२५० डलरमा रकम कबोल गरेको टेलिभिजन स्रोतले जनाएको छ । यो मूल्यमा टेण्डर प्राप्त गर्ने कम्पनीले कर्मचारीहरुलाई तालिम दिने र अन्य प्राविधिक लगायतका खर्चहरु समेत बेहोर्नेछन् ।

जसअनुसार एशियास्याटले सस्तो मूल्यमा टेलिकमलाई ब्याण्डविथ दिने कबोल गरेको भएपनि अझै सो टेण्डर प्रकृया नै रद्द गर्ने र सिधै एपीस्टारसँग किन्नका लागि समेत चलखेल भैरहेको टेलिभिजन स्रोतले जनाएको छ ।

सो टेण्डर कुनैपनि अवस्थामा रद्ध नगर्ने वर्तमान व्यवस्थापन पक्षले अडान लिएपछि सो टेण्डर खुलाइएको भएपनि अझै त्यसलाई रोक्ने प्रयास भईरहेको छ ।

‘पहिलेदेखि नै ब्याण्डविथ खरिदमा कमिशन खानेहरुले टेण्डर नै गर्न दिएका थिएनन् र अहिलेपनि टेण्डर रद्ध गर्न चलखेल गरिरहेका छन्,‘ टेलिभिजन स्रोतले भन्यो, ‘टेण्डरमार्फत सस्तो मूल्यमा खरिद गर्न पाउँदा संस्थाको पनि करोडौं रुपैयाँ रकम बचत हुने देखिन्छ । तर गिरोहहरुले मिलेमतोमा सो रकम गोजीमा हाल्ने प्रयास गरिरहेका छन् ।’

वर्तमान कार्यकारी अध्यक्ष समिरजंग शाहले आफू नियुक्त भएदेखि नै स्याटेलाइट ब्याण्डविथ खरिदका लागि टेण्डर प्रकृयामा जोड दिईरहेका छन् । जसअनुसार उनले यसअघि कर बाहेक २००० डलर अर्थात करिब २३०० डलरमा खरिद भईरहेको ब्याण्डविथलाई २ हजार डलरमा झार्न सफल भएका थिए ।

उनले अल्पकालिन रुपमा २,००० हजार डलरमा सेवा किनेपनि टेण्डरमार्फत नै सस्तो मूल्यमा ब्याण्डविथ खरिदको प्रकृया चालेका थिए ।

टेलिभिजनले हाल एपीस्टार सेभेनसँग नै २ हजार डलर प्रति मेगाहर्जमा ब्याण्डविथ खरिद गरिरहेकोमा सो कम्पनीले पनि टेण्डरमा जाँदा १,४९९ डलरमा नै दिने गरी सहभागी भएको छ तर यसअघि देखि नै चलखेल गर्नेहरुले भने टेण्डरमा नगई सिधै एपीस्टारसँग नै ब्याण्डविथ खरिद गर्न व्यवस्थापनलाई दबाब दिईरहेका छन् ।

अहिलेको २ हजार डलरको आधारमा हेर्दा टेण्डरमार्फत करिब ७५० डलर प्रति मेगाहर्ज सस्तो मूल्यमा टेलिभिजनले ब्याण्डविथ खरिद गर्न पाउनेछ तर तर सो सस्तो मूल्यलाई रोक्ने प्रयास निरन्तर भईरहेकोमा टेलिभिजनका कर्मचारीहरुले आपत्ति व्यक्त गरेका छन् ।

यसअघि पनि नेपाल टेलिभिजनले आफ्ना ५ ओटा च्यानलहरुको स्याटलाइट प्रशारणलाई निरन्तरता दिन प्रति मेगाहर्ज मासिक २ हजार ६ सय अमेरिकी डलरमा नबढ्ने गरि ब्यान्डविथ भाडामा लिन ग्लोबल टेन्डर आह्वान भएको थियो ।

त्यसबेला नेपाल टेलिभिजनले थाइकम फाइभ पीसिएलसँग प्रति मेगाहर्ज मासिक ३ हजार ४ सय ९० डलरसँग २५ मेगाहर्ज स्याटलाइट ब्यान्डविथ भाडामा लिँदै आईरहेको थियो ।
सन् २०१२ मा १० वर्षका लागि १० मेगाहर्ज भाडामा लिएकामा त्यसपछि बिना टेण्डर १५ मेगाहर्ज ब्यान्डविथ थपिएको थियो । तर थाइकमले आफ्नो स्याटेलाइटको आयु सकिएको भन्दै २०७७ सालदेखि एपीस्टार सेभेनबाट नेपाल टेलिभिजनलाई सेवा दिइरहेको थि‍यो ।

सन् २००५ मा लिइएको प्रति मेगाहर्ज मासिक ३ हजार ४ सय ९० अमेरिकी डलरको सम्झौता दर लामो समयसम्म कायम रहेको थियो । तर त्यसबेला अन्य नेपाली टेलिभिजन च्यानलहरुले प्रति मेगाहर्ज मासिक करिब १ हजारदेखि १५ सय डलरसम्म स्याटेलाइट ब्यान्डविथ भाडामा लिएका थिए ।

फेरी नेपाल टेलिभिजनले २०७७ असार १४ गते ग्लोबल टेन्डर आह्वान गरेको हो । तर सो टेण्डरमा आफूले भनेको कम्पनीलाई मिल्नेगरी टेन्डर डकुमेन्ट नबनाएको भन्दै तत्कालिन कार्यकारी अध्यक्ष लगायतका व्यक्ति टेन्डर डकुमेन्ट तयारमा संलग्न अधिकारीहरुसँग रुष्ट भएका थिए ।

त्यसबेला नेपाल टेलिकमको प्रशारण एनालगबाट डिजिटलमा लगिए पनि स्याटेलाइट ब्यान्डविथका लागि खोलिएको टेन्डरबाट सस्तोमा ब्यान्डविथ उपलब्ध गराउने कम्पनी आउँदाआउँदै रद्द भयो र थाइकमसँग पुरानै दरमा अल्पकालीन सम्झौता गरियो ।

नेपाल टेलिभिजन स्रोतकाअनुसार त्यतिबेला टेण्डर हाल्ने मध्ये एस्सेल स्याट टेक्नोलोजी प्रालिले प्रति मेगाहर्ज २ हजार ८ सय डलरको प्रस्ताव गरेको थियो । तर थाइकम फाइभले महँगो रकम हालेका कारण उसैलाई दिन उक्त बोलपत्र रद्ध गरिएको बताइन्छ ।

त्यसपछि फेरि खोलिएको स्याटेलाइट ब्याण्डविथको टेण्डरमा प्राविधिकरुपमा उपयुक्त र आर्थिक रुपमा सबैभन्दा कम रकम भएको भन्दै सन् २०१२ अप्रिल २७ तारिखमा थाइकमसँग नै १० वर्षका लागि वार्षिक २ लाख ९ हजार चार सय डलर तिर्ने शर्तसहित सम्झौता भएको थियो । यो रकम प्रति महिना एक मेगाहर्जका लागि त्यही पुरानै रेट अर्थात ३ हजार ४९० डलरमा नै थियो ।

सन् २०१४ मा नेपाल टेलिभिजनले समाचार च्यानल सञ्चालन गर्ने निर्णय गरेपछि त्यसलाई स्याटेलाइटमा लैजान पुरानै दर प्रति मेगाहर्ज मासिक ३ हजार ४९० डलरमा थाइकम फाइभसँग २.५ मेगाहर्ज ब्याण्डविथ थप्न सहमति भएको थियो । क्षेत्रीय च्यानलका रुपमा कोहलपुर प्रशारण केन्द्र स्थापना भएपछि त्यसलाई पनि स्याटेलाइटमा जोड्न पुरानै दरमा सन् २०१७ जुन १२ तारिखमा २।५ मेगाहर्जका लागि थाइकम फाइभसँग सम्झौता गरिएको थियो ।

त्यसबेलाका महाप्रबन्धक दिपमणी धितालले स्याटेलाइट नै नभएको थाईकमसँग १० वर्षे सम्झौता गरेर टेलिभिजनलाई धरापमा पारेको टेलिकम स्रोतले दाबी गरेको छ । उनी आफैं प्राविधिक भएको हुँदा हचुवाको भरमा स्याटेलाइट नै नभएको थाईकमसँग सिधै सम्झौता गरिएको बताईएको छ ।

सन् २०१२ मा १० वर्षका लागि १० मेगाहर्ज भाडामा लिएकामा त्यसपछि बिना टेण्डर १५ मेगाहर्ज ब्यान्डविथ थपिएको थियो। थाइकमले आफ्नो स्याटेलाइटको आयु सकिएको भन्दै पछि एपीस्टार सेभेनमा जान सुझाब दिईएको थियो र हालसम्म सो स्याटेलाइटले नै नेपाल टेलिभिजनलाई सेवा दिइरहेको छ ।
नेपाल टेलिभिजनका एक अधिकारीले लामो समयदेखि ब्याण्डविथमा कमिशन खानेहरुले अहिलेपनि चलखेल गरिरहेको बताए।