सिएनआई रोजगार तथा सीप मेला कार्तिक १७ देखि हुँदै
काठमाडौं । कार्तिक १७ गतेदेखि सिएनआई रोजगार तथा सीप मेला हुने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा हुने कार्तिक १७ देखि २० गतेसम्म उक्त मेलामा विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछन् । रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि समेत हुनेछ ।
देशका हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् । अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ ।
यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्न लागिएको छ ।













