१८ श्रावण २०८३, सोमबार

५९ लाखभन्दा बढी रकमको भन्सार छली ल्याएको सामान बरामद



काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ ।


उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यसैगरी पर्साको बीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट ३ भदौ राति सशस्त्र प्रहरीले करिब ५९ लाख ३४ हजार सात सय ५८ रुपैयाँ बराबरको प्रज्ञापनपत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।

बीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधि, प्लाइ उड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।