महंगा माेवाइल प्रतिवन्ध हुँदा पनि कसरी भित्रियो एक महिनामा साँढे दुई अर्बकाे मोबाइल ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

महंगा माेवाइल प्रतिवन्ध हुँदा पनि कसरी भित्रियो एक महिनामा साँढे दुई अर्बकाे मोबाइल ?



काठमाडौं । सरकारले महङ्गा मोबाइल फोन आयातमा रोक लगाएको भएपनि एक महिनामा साँढे २ अर्बको मोबाइल स्वदेश भित्रिएको छ । सरकारले विदेशी मुद्राको सञ्चितीमा कम भएको भन्दै उद्योग मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरेर असारमसान्तसम्म ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाएको थियो ।

सरकारले महङ्गा फोन आयातमा रोक लगाएपनि बजारमा गैरकानुनी माध्यमबाट भित्रने फोनको संख्यामा बृद्धि हुन थालेको व्यवसायीहरुले बताएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देशबाट नेपालले आयात गरेको छ । सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को साउनमा नेपालले विभिन्न देशबाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो । नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीनबाट आउने गरेको छ । गत साउनमा मात्र चीनबाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ ।

चीनपछि भारतबाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ । गत साउनमा भारतबाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ ।


प्रतिक्रिया दिनुहोस्