म्युचुअल फन्डहरूको प्रतिफल घट्यो
काठमाडौं । कम जोखिम र प्रतिफल बढी आउने क्षेत्रका रुपमा म्युचूअल फन्डलाई हेरिन्छ । म्युचूअल फन्डमा लगानी गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप हुन्छ ।
अघिल्ला वर्षहरूमा म्युचूअल फन्डहरूले मनग्य नाफा कमाए र लगानीकर्तालाई पनि सत–प्रतिशतसम्म रिटर्न पनि दिए । तर, गत आर्थिक वर्षका लागि म्युचूअल फन्डहरूले घोषणा गरेको प्रतिफलमा निकै संकुचन आएको छ । गत आर्थिक वर्षका लागि बिहीबार (भदौ ९ गते) ७वटा म्युचूअल फन्डले प्रतिफल घोषणा गरेका छन् ।
अहिलेसम्म लक्ष्मी उन्नतिकाष, लक्ष्मी इक्विटी फन्ड, एनएमबी हाइब्रिड फन्ड, एनएमबी फिफ्टी, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र एनआईबिएल प्रगति फन्डले नगद लाभांश घोषणा गरेका हुन् । यी सबैको प्रतिफलमा भारी गिरावट आएको हो । पछिल्लो एक वर्षयता निरन्तर, सेयर बजार घटिरहेको छ । त्यसको असर म्युचूअलमा पनि परेको देखिन्छ । म्युचूअल फन्डको नाफा घटेसँगै प्रतिफल घटेको हो ।
अघिल्ला वर्षहरूको तथ्यांक हेर्ने हो भने म्युचूअल फन्डहरूले आफ्ना लगानीकर्तालाई आकर्षिक प्रतिफल दिएका थिए । तर, अहिले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा पाइने ब्याजदरभन्दा म्युचूअल फन्डहरूले दिने प्रतिफल अहिले एकदमै कम देखिएको छ । बैंकहरूले व्यक्तिगत मुद्दति
निक्षेपमा ११.०३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् भने संस्थागत
मुद्दति निक्षेपमा भने ९.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । त्यसको तुलनामा केही म्युचूअलले भने अत्यन्तै कम प्रतिफल इकाइधनीहरूलाई दिएका छन् । गत आर्थिक वर्षका लागि लक्ष्मी उन्नतिकोष र लक्ष्मी इक्विटी फन्डले आफ्ना इकाइधनीलाई ५ प्रतिशतमात्रै प्रतिफल दिएका छन् ।
एनएमबि हाइब्रिड फन्ड र एनएमबि प्रतिफल प्रदान गरेका छन् । सिद्धार्थ इक्विटी फन्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमले १० प्रतिशत र एनआईबिएल प्रगति फन्डले ४.०२ प्रतिशत प्रतिफल दिएका छन् । अघिल्लो वर्ष लक्ष्मी उन्नतिकोषले २५ प्रतिशत, लक्ष्मी इक्विटी फन्डले ३५ प्रतिशत, एनएमबि हाइब्रिड फन्डले २० प्रतिशत प्रतिफल दिएका थिए ।
यस्तै, एनएमबि फिफ्टी, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमले ३० प्रतिशत र एनआईबिएल प्रगति फन्डले ५० प्रतिशत प्रतिफल इकाइधनीलाई दिएका थिए । कुनै बेला लगानीकर्ताले मुद्दति निक्षेपको रिटर्नभन्दा फन्डबाट धेरै रिटर्न पाइरहेको अवस्था थियो । तर, पछिल्लो समय म्युचूअलमा लगानी गर्न लगानीकर्ता नै झस्किएको अवस्था छ । जसकारण उनीहरूले सुरक्षित र कम जोखिमका बाटो खोजिरहेका छन् । लगानीकर्ताले सुरक्षित लगानीको बाटो खोजिरहेका बेला बैंकहरूले १० गुणासम्म रकम फिर्ता पाइने योजना ल्याएपछि लगानीकर्ता बैंकतिर, आकर्षित भएको हुनसक्ने जानकारहरू बताउँछन् ।













