२२ श्रावण २०८३, शुक्रबार

धरासँगको विलिन यात्रा, ठाकुरद्वार सम्म !



नबराज जोशी । जसरी झरनाबाट झरेको पानी छचल्किँदै आफ्नो गन्तव्य भेटाउने संङ्घर्ष गरिरहन्छ त्यसैगरी हाम्रो यो यात्रा, यात्रा गरिरहेको थियो । जेम्स स्कुलबाट अन्तिम विदाई लिँदै धनगढीका गल्ली गल्लीमा नागबेली चाल बुनि गन्तव्यतिर लम्किरहेको थियो हाम्रो यात्रा । यसरी छिचोल्दै छिचोलिदै गन्तव्यको मार्ग कोरिरहेका थियौँ ।

सङ्गीत र नृत्यको सङ्गममा सृजित त्यो यात्रा निकै आनन्दमय हुँदै गयो । पाइला बढ्दै थिए, गीतका धुनले मनमा निकै उत्साह थप्दै थियो । मनमा जवानीका लहरहरु नाच्दै थिए । उमङ्गको बोध हुँदै गएको थियो । त्यो उमङ्गमा मेरा यी हात र खुट्टाका चालहरु चालिन खोज्दै थिए । मनका भित्री ताल र चाल एकाकार भैरहेको आभाष पनि नभएको भने होइन तर मलाई मेरी धराको प्रेम भन्दा अर्को उत्साह केही थिएन ।

गाडीको ढोकामा उभिँदा जिन्दगीका प्रत्येक यात्रा सफल भएको अनुभूति गर्ने मान्छे हुँ म । त्यसैले मेरो पहिलो रोजाइ ढोका नै थियो । जति गाडीले आफ्नो यात्रामा समयको बुट्टा भर्दै थियो, त्यति वरपर भएको वनजङ्गलको अपुर्व प्रेमले लठ्ठिदै थिएँ । त्यसैमा निश्चल प्रेम वायुदेवले पनि थप्दै गएका थिए ।

हरिया सालका पातले ढपक्क ढाकेका ती अग्ला वृक्षहरुको जवानी र बुढ्यौलीमा मज्जाको आनन्द भेटिन्थ्यो । निकै मिठो रसले गुलियो बनाएको थियो मेरि धरालाई । उनको नाङ्गो वदनलाई जवानीको मीठो रस चढाउने ती वृक्षहरु आफैमा उमङ्गीत देखिन्थे । बढ्दै गएको यात्रा थपिदै गएको समय, गन्तव्यप्रतिको मोहले खासै अर्थ राखेको थिएन वा राख्न पनि पाएको थिएन मेरी धरा र उनको त्यो गज्जबको लाली देखेर । त्यति मात्र कहाँ हो महोदय मेरी धरालाई पवित्र तुल्याउन गङ्गाका पदचापहरु पनि नभेटिएका होइनन् । उनको त्यो सङ्गमले झन् मेरा मनका रहरहरु थपिदै गएका थिए ।

आफ्नै सुर र तालमा गङ्गाका छालहरु बहकिदै थिए । कतै मेरी धरासङ्ग चुम्बन गरिरहेका परिदृश्य देख्न पनि नपाइएको होइन । यो परिदृश्यले डाह र रिस पनि नउठेको होइन। तर यसो सोचें गङ्गाको चुम्बनले मेरि धरा पवित्र बन्दै गएकी छिन् भने मनमा किन डाह लिनु होइन र ? झन् मीठो रसले सिञ्चित भैरहेकी मेरी धरालाई देख्दा मनका रहरहरु अनौठो सहर खोजिरहेको आभाष हुन्थ्यो । यसरी मन लोभिदै गयो र गन्तव्य नजिकतिरको समय पनि जिस्क्याउँदै थियो । जब हाम्रा पाइला त्यहाँ पुगेँ, मेरी धराको अधरमा गज्जबको मुस्कान भेटिन्थ्यो ।

कर्णाली, आफैमा गर्व लाग्दो इतिहाँस भएकी गङ्गाकी बहिनी हुन् । उनको वदनमा अनौठा रङ्गीन चित्रले विचित्र सहर सजाएको थियो । अग्ला पहाडलाई छिमेकी बनाएर बसेकी कर्णाली, सुन्दरताको विछट्टै रङ्ग पोतिरहेकि आभाष हुन्थ्यो, जब उनको नजिक पुग्ने साहस गरिरहेका थियौँ । आफ्नो आँगनमा फलामले बनेको अद्भुत संरचना सर्लक्क परेको थियो । उसले कर्णालीमा अपवित्र पदचापहरु पर्न रोकेको थियो अनि पो कर्णालीले त्यो अद्भुत संरचना सोभायमान तुल्याइरहेकी छिन् । यसरी कर्णाली पुग्दै गर्दा मनमा अनौठो आभाष हुँदै थियो ।

शब्दहरु यसरी बहकिन थाले कि कर्णालीको अभुतपुर्व प्रेममा झण्डै डुबुल्की मारेको । अग्ला पहाडले कर्णालीलाई बेहुली बनाएर सजाएको परिदृश्य मेरा लागि गज्जबको थियो । मेरा बेइमानी नजरबाट किञ्चित पनि असर नपरोस् भनेर बाटो छेक्दै गरेका ती पहाडहरुको लिलामय दृश्य मनमा बडो वेगले हानिरहेको थियो । मलाई नजिक जान नदिने वा उनको अधरमा रहेको मुस्कानबाट वञ्चित गराउन लागिपरेका पहाडले छेकेर म कहाँ रोकिन्थे । उता कर्णालीले मीठो आवाजले मेरो मनलाई आफुतिर ताइरहेको आभाष गरिरहेको थिएँ ।

सुरिलो भाकामा गीत गाइरहेको आभाष हुन्थ्यो त्यो बेला मलाई, कर्णाली । एकचोटी बेस्सरी चिच्याउन मन लागिरहेको थियो, हजुर भनेर प्रतिउत्तर फर्काउने मन लागिरहेको थियो । उनले गाएको मीठो गीतमा मेरो स्वर मिसाउन मन न लागेको भने होइन तर त्यही मीठो स्वरमा कागको उराठ लाग्दो स्वरले किन उबडखाबड बनाउनु भनेर मात्रै। गन्तव्यमा छिटो पुग्नु थियो तसर्थ पछि साँझ एकपटक त्यो अद्भुत प्रेमका लागि लालायित रहेको जानकारी गराउँदै विदाइका हातहरु हल्लाए ।

गाडीले आफ्नो गति बढायो, बर्दिया राष्ट्रीय निकुञ्ज भएर जानेमा बाटोमा बडो होसियार पुर्वक अघि बढियो । फोहोर, थुक वा अन्य कुनै पनि वस्तु बाहिर फ्याँक्न नपाउने, आवाज दिने खालका साधन तथा बाजा बजाउन नपाउने लगायतका नियम सबै जनालाई बताउँदै थियौँ हामी । यसो भनिरहँदा एक जना विद्यार्थीले यहाँ मात्रै किन फोहोर नफालेको सर ? अरु ठाउँ पनि नफाल्नु पर्ने होइन र ? यो प्रश्न जति सहज थियो त्यति गम्भीर ? तर मनमा एउटा खुशी भने थियो प्रश्न गर्ने त्यो आँट। यो आँट भित्रको रहस्य र सत्यताप्रती हामी सजग थियौँ। यो कुरा जति सहज रुपमा प्रस्तुत गरिएको छ त्यसरी सहजताको रुपमा भने लिइएको थिएन, छैन । यी कुराहरुको निचोड बेग्लै आउनेछ भन्ने कुरामा सबै विश्वस्त थियौँ, छौँ त्यसैले यसलाई यहि पाटो सङ्ग जोड्ने दुस्साहस गरिएको छैन । यसरी कुराकानी गर्दा गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज सम्मको मार्ग टुङ्गियो, ठाकुरद्वार नजिक पुग्यौँ ।

सालका ठिङ्ग उभिएका ती वृक्षहरुको बिचैबिच छिचोलिदै गाडीले गन्तव्यमा पुर्याएको थियो । भित्र प्रवेश गर्दा सङ्ग्रहालयमा भएका विभिन्न तस्विरहरुको अवलोकन गरेर सिधै हामी लम्पसार परेका गोही कहाँ पुगेका थियौँ । त्यसपछी बाघको अवलोकन समेत गरेका थियौँ । निकै डरलाग्दो त्यो अनुहार मेरा लागि विशेष अनुभव बन्न सफल भएको थियो । पिँजडा भित्र बसेको त्यो बाघले आफ्ना नजरहरु घुमाउँदा मनमा अनौठो अनुभवको आभाष पनि महशुस गरिएको थियो जुन कुरा अव्यक्त गर्नु नै उचित सम्झिएँ अहिलेका लागि । दुस्प्रयासी मानिसको भीड देखेपछी उसले आफ्नो मुख खोल्दै जिब्रोले र्याल चाटिरहेको दृश्य गज्जबको लाग्दथ्यो । यसैगरी त्यो अनुभव सङ्गै गैँडाको विचित्र सहनशिलता देखेर बडो अचम्मित बनेँ । यति मात्र होइन उसको छेवैमा रहेका दुईटै हात्तिका आँखामा गज्जबको अनुभूति भेटिन्थ्यो । सोझा झैं देखिने ती बडो प्रेमी आँखा देखेर मेरो मन पनि न बहकिएको होइन । हात्तीले आफु आफुमा व्यक्त गरेका ती अनौठा भावले मलाई साक्षी बनाउने त्यो अभुतपुर्व अवसर पनि प्राप्त गरेँ मैले । यसरी अवलोकन गर्दै जिवनको सङ्गिम यात्रालाई गन्तव्यतिर डोर्याउने जमर्को गर्यौँ ।

जसरी गाडीले पाइला चाल्दै थियो, दुरी घट्दै थियो, उत्साह बढ्दै थियो । छुट्टै उमङ्ग थपिदै थियो । साँझपखको कर्णालीको प्रेम, उमङ्गसङ आफ्ना रहरहरु मिसाउन चाहन्थेँ। वर्षौँ सम्म गुम्सिएका बेदनाहरु एकएक गरि फुकाउन चाहन्थेँ । त्यो उमङ्गको आभाष गर्न लालायित यो मन अब कर्णालीको आँगनमा मञ्चन हुँदै थियो ।

साँझ पख उदाउँदै गरेको त्यो शान्त चन्द्रमा आफ्नो प्रेमपुर्ण प्रकाशले सम्पुर्ण कर्णाली नै लज्जाले निहुरिरहेको महशुस हुन्थ्यो । कर्णालीको सुसेलीले आफ्नो मर्म र उत्साह दुवै ती ठिङ्ग उभिएका पहाडलाई भनिरहेको आवाज सुनिन्थ्यो । त्यो मन्त्रमुग्ध आवाजले हरकोहीलाई लोभ्याउन सक्छ भने म त एक निम्छरो व्यक्ती थिएँ। म किन अछुतो रहन सक्थें होला त्यो अनौठो अनुभुतीको वशिभुत हुन । साँझपखको अधुरो प्रेम यत्तिकैमा छोडेर जाने रहर भने थिएन तर समयको वेगलाई मैले कहाँ रोक्न सक्थें? विदाईका अन्तिम हातहरु हल्लाएँ, नमन टक्र्याएँ ।

गाडीले आफ्नो यात्रा तय गर्यो । विभिन्न प्रतिकुल अवस्थाका बाबजुद रमाइलो गर्ने चेष्टा हामिले पनि निरन्तर गरि रह्यौँ । एक्लो महशुस गरिरहेका ती वनजङ्गल आफ्नो बसोबास खोज्दै वन्यजन्तु चाहारिरहेका होलान भन्ने अनुभुती मनमा आइरह्यो । जङ्गलमा दिनभरी डुल्दा, खेल्दा, रम्दा थकित ती वन्यजन्तु वनजङ्गलको न्यानो काखमा गहिरो रातसङ्ग पिरती लगाउने चेष्टा गरिरहँदा हामी भने यात्रामा गीत सङ्गीत सङ्ग पिरती लाइरहेका थियौँ । यसरी गीत सङ्गित सङ्गै माया पिरतीको अपुर्व क्षण बिताउँदै गन्तव्यमा पुग्यौँ । सम्पुर्ण विद्यार्थी आ– आफ्नो घर गए अनि म पनि घर फर्केँ । जीवनको यो सङ्गीन यात्राको अतुल्य र अमुल्य यादहरु डायरीको पानामा सजाएर राख्ने अन्तिम चेष्टा गर्दै विदाईको हात हल्लाएँ, नमन टक्र्याएँ आजको यो मीठो दिनलाई । विछट्टै, अपार मायाँ अनि मीठो सम्झना मेरी धरालाई व्यक्त गर्दै भोलिका लागि आजको रात सङ्ग पिरती लाउन गए । सबै जनाको रातले भोलिकोदिनलाई सुमधुर बनाउने साहस गरोस् मेरो अन्तिम कामना !