२६ श्रावण २०८३, मंगलबार

बागमती प्रदेशको दिगो विकासमा उर्जा तथा जलविद्युत सम्बन्धि २ दिने कार्यशाला धुलिखेलमा सुरु



धुलिखेल । उर्जा तथा जलविद्युत् क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले दुईदिने कार्यशाला आजदेखि काभ्रेको धुलिखेलमा सुरु भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा ’बागमती प्रदेशको दिगो विकासका लागि उर्जा’ सम्बन्धि कार्यक्रमको नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपक सिंहले उद्घाटन गरेका छन् ।

कार्यशाला माघ ४ र ५ गते दुइदिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा उर्जा विकास क्षेत्रको विषयलाई मुख्य आधार बनाएर समाचार लेखनमा क्रियाशील पत्रकारहरुसहित बागमती प्रदेशभित्रका जिल्लाका उर्जा तथा जलविद्युत् उत्पादनको पकेट क्षेत्र मानिएका स्थानीय तहका प्रमुखहरु र उर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको छ ।

यसका साथै बागमती प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री उद्धव थापासहित, प्रदेश सांसद् युवराज चौलागाईं, बागमती प्रदेशका योजना आयोगका उपाध्यक्ष होमनाथ चालिसे, संघ र प्रदेशका उर्जा मन्त्रालयलयका अधिकारीहरु समेत सहभागी छन् ।

कार्यशालमा जलविद्युत् मार्फत् आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्य राखिएको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

कार्यशालाको महत्व तथा उद्देश्यबारे प्रकाश पार्दै इप्पानका अध्यक्ष आचार्यले उर्जा बिना विकास अघि बढ्न सम्भव नरहेको बताउँदै देशलाई सम्बृद्ध बनाउन जलविद्युत् विकासको आवश्यकता बढेर गएको बताए ।

बागमती प्रदेशको दिगो विकासका लागि उर्जा सम्बन्धि यस कार्यक्रम स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले अन्तराष्ट्रिय मुद्रा कोष (आइएफसी) को सहयोगमा सञ्चालन गरेको हो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का सदस्य प्रकाश दुलालले बागमती प्रदेशमा जलविद्युत् विकासको वर्तमान अवस्था र सम्भावनाबारे जानकारी गराए । दुईदिने सो कार्यशालामा उर्जा तथा जलविद्युत्सँग सम्बन्धित क्षेत्रका विभिन्न विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

बागमती प्रदेशमा रहेको उर्जा र जलस्रोतलाई यो प्रदेशको आर्थिक वृद्धि र सम्बृद्धिको प्रमुख स्रोतका रूपमा विकास गर्नमा यस फलदायी हुने विश्वास इप्पानले गरेको छ ।

बागमती प्रदेशको उर्जा क्षेत्रको विकास र प्रवद्र्धन गरी समग्र प्रदेशको आर्थिक जग बलियो बनाउन मद्दत पुग्ने इप्पानका बागमती प्रदेशका सचिव मिथुन पौडेलले जानकारी दिए ।