२८ श्रावण २०८३, बिहिबार

भुईँ माटो कै घरमा अझै ४६.२ प्रतिशत नेपाली



काठमाडौं । परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरहरु मध्ये ४६.२ प्रतिशत परिवारको घरको भुईंमा माटो बनेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार यस्तो देखाएको हो ।

४७.३ प्रतिशतको सिमेन्ट/ढलान, २.७ प्रतिशतको सेरामिक टायल, २.० प्रतिशतको काठको फल्याक/बाँस, १.४ प्रतिशतको ईंटा÷ढुंगा छ भने बाँकी घरको भुईंमा अन्य सामग्रीको प्रयोग भएको देखिन्छ ।

प्रदेशगत रुपमा हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी (८१.० प्रतिशत) घरको भुईं माटोबाट, बागमती प्रदेशमा ७१.६ प्रतिशत सिमेन्ट ढलानबाट बनेको देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशको घरको भुईं २०.३ प्रतिशत माटोबाट, कर्णाली प्रदेशको १४.४ प्रतिशत परिवारको घरको भुईं सिमेन्ट ढलानबाट बनेको देखिन्छ ।

यसैगरी, परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरहरु मध्ये मुख्य रुपमा ४१.९ प्रतिशत परिवारको छाना जस्ता/टिन/च्यादरबाट बनेको छ । त्यस्तै, ३७.८ प्रतिशतको सिमेन्ट/ढलानबाट, ९.२ प्रतिशतको टायल/खपटा/झिँगटीबाट, ३.९ प्रतिशत खर/पराल/छ्वालीबाट बनेको देखिएको छ भने ६.१ प्रतिशत ढुङ्गा/स्लेटबाट, ०.७ प्रतिशत घरहरुको छाना माटोबाट, ०.३ प्रतिशतको काठ÷फल्याकबाट र ०.१ प्रतिशतको छाना अन्य सामग्रीको प्रयोगबाट बनेको देखिन्छ ।

वि.सं. २०६८ सालमा २८.३ प्रतिशत परिवारको छाना जस्ता/टिन/च्यादरबाट, २६.७ प्रतिशतको टायल÷खपटा÷झिँगटीबाट, २२.५ प्रतिशतको सिमेन्ट/ढलानबाट, १९ प्रतिशतको खर/परालबाट बनेको देखिएको थियो ।

२.२३ प्रदेशगत रुपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी (६९.८ प्रतिशत) परिवारका छाना जस्ता/टिन/च्यादरबाट, बागमती प्रदेशमा सबैभन्दा बढी (५७ प्रतिशत) सिमेन्ट ढलानबाट, मधेश प्रदेशमा सबैभन्दा बढी (३७.४ प्रतिशत) घरको छानाको बनोट टायल/खपटा/झिँगटीबाट बनेको देखिन्छ ।