एशियन लाइफ इन्स्योरेन्स १६औं वर्षमा प्रवेश, गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
एशियन लाइफ इन्स्योरेन्स १६औं वर्षमा प्रवेश, गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको कम्पनीले आज विभिन्न कार्यक्रम गर्दै १५औं वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै आज अर्थात चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी तथा सर्वसाधारण समेत ४६ जनाले रक्तदान गरेका छन् ।
साथै देशभरका ६१ वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् स्थानीय मठ मन्दिर, आश्रम, विद्यालय तथा अनाथालयमा शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा पन्ध्र वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकहरुमा धन्यवाद ब्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको बताए ।
यस कम्पनीको चालू आ.व. २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड रुपैयाँ र कूल बीमाशुल्क ४० अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कूल लगानी ३९ अर्ब ८ करोड रुपैयाँ छ । यसैगरी चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ४ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीमा ६ लाख ११ हजार सकृय बीमालेख छन् । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आव २०७८/७९ को संचित नाफाबाट ८.९४७ प्रतिशत बोनश शेयर प्रस्ताव गरिएको छ । नियामक नेपाल बीमा प्राधिकरणबाट प्रस्तावित बोनश स्वीकृत भइसकेकाले निकट भविष्यमा नै आ.व. २०७८/७९ को साधारण सभा समेत आयोजना गरिनेछ ।













