३० श्रावण २०८३, शनिबार

गलकोट नगर अस्पतालमा व्यवस्थापकीय सुधारः गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड, बिरामीको चाप बढ्दै



थम्मन थापा,
बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नं ५ हरिचौर स्थित गलकोट नगर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ ।

तत्कालिन गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती भएको छ । नगर अस्पतालको व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधारसँगै उपचार गर्न आउने बिरामीको संख्यामा समेत वृद्वि भएको भएको हो ।

सो क्षेत्रका नागरिकलाई थप स्वास्थ्य सुविधा प्रदानका लागि गलकोट नगरपालिकाले विशेष गृहकार्य गरिरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरले बताए । उनले भने,– ‘हामीले तत्कालिन गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेका छौं । नगरबासी नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदानका लागि हामीले थप आवश्यक गृहकार्य पनि सुरु गरिरहेको छौं ।’

नागरिकलाई आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउन गलकोट नगरपालिका, नगर अस्पताल व्यवस्थापन समिती र सरोकारवालाले सक्रियता देखाएका छन् ।

गलकोट नगरपालिका सहित छिमेकी पालिकहरुका सर्वसाधारणहरुलाई लक्षित गरि स्वास्थ्य सेवा प्रदान भईरहेको गलकोट नगर अस्पतालका प्रमुख एमडिजीपी डाक्टर राजेश पौडेलले बताए । उनले भने,‘नगरबासी र छिमेकी पालिकाका नागरिकलाई समेत लक्षित गरि आवश्यक स्वास्थ्य सेवा सुविधा गाउँमै पाउन सकुन् भन्ने संघियताको मर्म हो, त्यो अनुसार सेवा प्रवाह गर्न हामी प्रतिवद्व छौँ।’ अहिले आवश्यक गुरुयोजना बनाएर अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रयास भईरहेको डा. पौडेलले भनाई छ।

सामान्य स्वास्थ्य सेवा समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि नगरपालिका जनप्रनिधिहरु पनि सक्रिय छन् ।नगर अस्पतालको प्रभावकारी स्वास्थ्य सेवामा केन्द्रित रहेको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले बताए । उनले भने,–‘स्वास्थ्य निकै संवदेनशील विषय हो । गलकोट नगर अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउनेमा हामी केन्द्रित छौं । अस्पताल हुने, सेवा नहुने भयो भने त्यसको अर्थ रहँदैन, त्यसैले हामी नागरिकको स्वास्थ्य सेवा प्रति उत्तरदायी छौं ।’

यता, गलकोट नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले भने गुणस्तरी स्वास्थय सेवाका लागि आवश्यक जनशक्ति र पूर्वाधार निर्माणमा जोड दिएको बताए । स्वास्थ्यमा सामान्य समस्या हुँदा पनि काठमाडौं पोखरा जानुपर्ने अवस्थाको अन्त्यका लागि नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन र आवश्यक जनशक्ति तथा पुर्वाधार तयारमा जोड दिईरहेको उनको भनाई छ ।

गलकोट गलकोट नगर अस्पतालमा अहिले सेवा सुविधाको विषयमा दैनिक स्वास्थ्यकर्मीहरुको समिक्षा बैठक समेत गर्ने गरिएको छ । वि.सं २०१६ सालमा स्वास्थ्य चौकीको रुपमा स्थापना भएको सो अस्पताललाई २०५१ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा थियो । तर, गत वर्षदेखि गलकोट नगर अस्पतालको रुपमा स्तरोन्नती गरिएको हो ।