बैंकिङ्ग क्षेत्रको निक्षेपमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बले बढ्यो
काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रको निक्षेपमा नयाँ रेकर्ड कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन ५४ खर्ब ३६ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन एकैदिन ६ अर्ब रुपैयाँले वृद्धि भएको हो । गत मंगलबारसम्म बैंकहरुमा कुल निक्षेप ५४ खर्ब ३० अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । तर, बुधवारसम्म भने थप ६ अर्बले बढेर ५४ खर्ब ३६ अर्ब पुगेको हो ।
सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि वृद्धि भएको छ । बैंकहरुको निक्षेप एकैदिन ६ अर्बले बढेर ४७ खर्ब ९५ अर्ब रुपैयाँ पुगेकोछ । यो बुधवारसम्मको तथ्याङ्क हो । राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म भने बैंकहरुमा ४७ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संलकन भएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढेता पनि कर्जा प्रवाहले भने गति लिएको छैन। बैंकहरुबाट निक्षेप संकलन अनुसारको कर्जा लगानी हुन् सकिरहेको छैन । पछिल्लो एक दिनमा थप १ अर्ब रुपैयाँ मात्रै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गरेका छन् । योसंगै बुधवारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ४८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । तर, गत मंगलबारसम्म भने ४८ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो ।
सो अवधिमा वाणिज्य बैंकहरुले मात्रै थप कर्जा लगानी गरेका हुन् । वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । गत मंगलबारसम्म भने बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै आएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडि रेसियो ८५.४३ प्रतिशत रहेको छ ।
मंगलबार पनि ८५.४३ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।













