सूचना प्रविधिमा बढ्दो सम्भावना उजागर गर्न यही हप्ता ‘आकाशटेल नास-आईटी एक्स्पो’
काठमाडाैँ । नेपालको सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने र नवीनतम आविष्कारलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यसहित ‘आकाशटेल नास-आईटी एक्स्पो २०८३’ आयोजना हुने भएको छ।
नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनी संघ (नास-आईटी) को आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी २०८३ साल मंसीर ५ र ६ गते (नोभेम्बर २१ र २२, २०२६) यो विशेष प्रर्दशनी सम्पन्न हुनेछ। आयोजक संस्थाले हालै राजधानीमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै एक्स्पोको तयारी र यसका समग्र पक्षबारे विस्तृत जानकारी गराएको छ।
नेपालमा पछिल्लो समय विकास भइरहेका सफ्टवेयर, डिजिटल सेवा र प्रविधिजन्य नवीनतम आविष्कारहरूलाई प्रवर्द्धन गर्न यो एक्स्पोले मुख्य भूमिका खेल्नेछ। देशको प्रविधि क्षेत्रको वास्तविक क्षमतालाई उजागर गर्दै विश्व बजारमा नेपाली सेवाको पहुँच विस्तार गर्न यो प्रदर्शनी एक महत्त्वपूर्ण माध्यम बन्ने विश्वास लिइएको छ।
कार्यक्रममा स्वदेशी आईटी कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरूको प्रभावकारिता प्रदर्शन गर्नेछन् भने यसले नेपाललाई एक उददीयमान प्रविधि गन्तव्यका रूपमा स्थापित गर्न सघाउ पुर्याउनेछ।
आगामी मंसीरमा हुने यस महाकुम्भमा नेपालका अग्रणी सफ्टवेयर तथा आईटी सेवा प्रदायक कम्पनीहरूको सक्रिय सहभागिता रहनेछ। प्रदर्शनी स्थलमा अत्याधुनिक प्रविधिहरू, डिजिटल समाधानहरू र आईटी क्षेत्रका नयाँ प्रयोगहरूको प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।
यसले केवल व्यावसायिक प्रवर्द्धन मात्र गर्ने छैन, बरु प्रविधि क्षेत्रका उद्यमी, लगानीकर्ता र नयाँ प्रतिभाहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउन गतिलो मञ्च प्रदान गर्नेछ। नेपालको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने यस्ता आयोजनहरूले समग्र देशको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।















