१० श्रावण २०८३, आइतबार

बीमा कर्मचारीको गुनासोः लक्ष्य दिने अधिकार नदिने, जथाभावी सरुवा गर्ने र अनावश्यक दबाब

बीमा कर्मचारीको गुनासोः लक्ष्य दिने अधिकार नदिने, जथाभावी सरुवा गर्ने र अनावश्यक दबाब



काठमाडौं । बीमा प्राधिकरणको केन्द्रीय कार्यालयले लक्ष्य मात्र दिएको तर अधिकार भने प्रत्यायोजन नगरेको गुनासो आएको छ । बीमा प्राधिकरणको आयोजनामा जनकपुरमा बीमकका प्रदेश तथा शाखा कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधिहरुसँग बीमा सम्बन्धी अन्तरक्रियामा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।

सहभागिहरुले कार्यालयमा आवश्यक जनशक्तिको व्यवस्था नभएको, सरेण्डरको समस्या रहेको, बीमा अभिकर्ताबाट उचित किसिमले जोखिमाङ्कन नहुँदा दाबी भुक्तानीमा समस्या देखिएको, केन्द्रबाट जथाभावी सरुवा गर्ने र अनावश्यक दबाब दिने गरेको लगायतका गुनासाहरु गरेका थिए ।

कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा ऐन, २०७९ मा भएका व्यवस्था, नेपाल बीमा प्राधिकरण र प्राधिकरणका प्रदेश कार्यालयका कार्य, बीमकका शाखा कार्यालयका मापदण्ड, जोखिमाङ्कनको प्रभावकारिता लगायत बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिए ।

त्यस्तै, निर्देशक लालले मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरमा रहेका बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको आज स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयहरुको भौतिक अवस्था कमजोर रहेको, कतिपय कार्यालयमा एक दुईजना मात्र कर्मचारीहरु रहेको, बीमितले प्रतीक्षा गर्ने ठाउँको व्यवस्था नगरिएकोे, कार्यालयहरुलाई केन्द्रबाट अधिकार प्रत्यायोजन नभएको लगायतका समस्याहरु देखिएको निर्देशक लालले जानकारी दिए ।