प्रभु लाइफ इन्स्योरेन्सले जेठ २६ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा जेठ २६ गतेका लागि बोलाएको छ । कम्पनीको जेठ ३ गते बसेको संचालक समितिको बैठकले लैनचौर ब्याङक्वेट, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने कम्पनीको मुख्य एजेण्डा रहेको छ । दुई कम्पनी मर्जपछि ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार र १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने भएको हुदाँ जेठ ११ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













