बैंकिङ पाठ्यक्रम निर्माणका तथा कार्यान्वयनका लागि सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच एक सम्झौता सम्पन्न भएको छ ।
नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट अध्यक्ष श्री पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयकोतर्फबाट उपकुलपति प्रा.डा. यादवराज कोइरालाले हस्ताक्षर गरेका हुन् । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई व्यवहारिकता÷उत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष एवं क्षमतावान् मानवीय पूँजीको उत्पादन तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी देश भित्र नै अध्ययन÷अध्यापनको उपयुक्त अवसर सृजना गर्नु, देशैभित्र मानवीय पूँजीको उपयुक्त परिचालन तथा उपयोग गर्नु र नेपालको बैंकिङ क्षेत्रले प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गर्नु उक्त सम्झौता पत्रको मुख्य उद्देश्य रहेको छ ।
कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्याङ्कन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजीटल÷क्रिप्टो करेन्सी, वित्तीय मोडेलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छायाँ बैंकिङ, स्टार्ट अप बिजनेस, स्वउद्यमशिलता जस्ता नविन विषयहरु र बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यवहारिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुका विषयमा पाठ्यक्रम निर्माण हुनेछ । त्यसैगरी विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन÷विदेशी विनिमय दर र विदेशी मुद्रा नीतिमा यसको प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, ई–बैंकिङ÷डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पूँजी बजारको विकास, पूँजी बजारका साधन र पूर्वाधार जस्ता विषयहरुमा प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यसम्पादनमा चुस्तता एवं निपूर्णताको विकास गर्ने र वर्तमान तथा भविष्यमा बैंकिङ क्षेत्रमा देखिने जोखिम व्यवस्थापनसहित बैंकिङ क्षेत्रको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
प्रारम्भिक चरणमा स्नात्तकोत्तर तहमा लागू हुने यस पाठ्यक्रमलाई बिस्तारै तल्लो तहबाट नै लागू हुने गरी थप पाठ्यक्रम निर्माण गर्ने लक्ष्य राखिएको छ । पाठ्यक्रम निर्माणका लागि ख्यातिप्राप्त विषयविज्ञहरु रहेको एक कार्यदल गठन गरी सरोकारवाला पक्षहरुसँग ब्यापक छलफल तथा पराशर्म गर्ने कार्य तत्काल आरम्भ गरिनेछ ।













